आधुनिक समाज डेन्टलमा स्वास्थ्यमन्त्री घिमिरेको आकस्मिक भ्रमण, मुख स्वास्थ्य सेवामा सहकार्यको प्रतिबद्धता
बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले बुटवलस्थित आधुनिक समाज डेन्टलको आकस्मिक भ्रमण गर्दै मुख स्वास्थ्य सेवाको अवस्था, सेवा विस्तार र सरकारी–निजी साझेदारीका सम्भावनाबारे छलफल गर्नुभएको छ।
भ्रमणका क्रममा मन्त्री घिमिरेले आधुनिक समाज डेन्टलका अध्यक्ष तथा मुख स्वास्थ्य अभियन्ता अमृत भुसालसँग प्रदेशभर गुणस्तरीय र पहुँचयोग्य मुख स्वास्थ्य सेवा विस्तार, समुदायमा आधारित जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा मुख स्वास्थ्यलाई प्राथमिकतामा राख्ने विषयमा छलफल गर्नुभएको थियो।
छलफलमा अध्यक्ष भुसालले आधुनिक समाज डेन्टलले अत्याधुनिक प्रविधि, विशेषज्ञ चिकित्सकको टोली र बिरामीमैत्री सेवामार्फत दन्त उपचार प्रदान गर्दै आएको जानकारी गराउँदै विद्यालय, स्थानीय तह र समुदायस्तरमा मुख स्वास्थ्य सचेतना कार्यक्रम विस्तार गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले मुख स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न अंगका रूपमा स्थापित गर्न प्रदेश सरकारसँग सहकार्य गर्न संस्था तयार रहेको उल्लेख गर्नुभयो।
त्यसक्रममा स्वास्थ्यमन्त्री घिमिरेले आधुनिक समाज डेन्टलले उपचार सेवासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएका मुख स्वास्थ्य सचेतनामूलक कार्यक्रमको प्रशंसा गर्दै यस्ता संस्थासँग सहकार्य गरेर प्रदेशमा मुख स्वास्थ्य सेवाको पहुँच र गुणस्तर थप सुदृढ बनाउन सकिने बताउनुभयो।
भ्रमणका अवसरमा मन्त्री घिमिरेलाई आधुनिक समाज डेन्टलमा प्रयोग भइरहेका डिजिटल दन्त उपचार प्रणाली, अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सकहरूको सेवाबारे जानकारी गराइएको थियो। सोही क्रममा विशेषज्ञ दन्त चिकित्सक डा. भोजराज खनाल नेतृत्वको टोलीले मन्त्री घिमिरेको मुख स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्शसमेत दिएको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष भुसालले आफ्नो ज्ञान, सीप र अनुभव समाजकै हितमा समर्पित गर्दै मुख स्वास्थ्य सचेतना र गुणस्तरीय सेवा विस्तारमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

लेखकको सम्वन्धमा