लुम्बिनीमा सडक दुर्घटना ः मृतकहरुको ग्राफ उकालो लाग्दै

लुम्बिनीमा सडक दुर्घटना ः मृतकहरुको ग्राफ उकालो लाग्दै
0 0
Read Time:8 Minute, 5 Second

बुटवल । २०८३ बैशाख २९ गते, अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–८, दुर्गाफाँट–कुरुले क्षेत्रमा सुपा देउराली दर्शन गरेर फर्किँदै गरेको यात्रुवाहक बस दुर्घटनामा पर्दा ५ जनाले ज्यान गुमाए । पर्वत जिल्लाबाट आएको ग १ ध ५०४ नम्बरको बस ओरालो सडकमा अनियन्त्रित भई सडकबाट तल खसेको थियो। घटनास्थलमै २ जनाको र उपचारका क्रममा थप ३ व्यक्तिको मृत्यु भएको थियो । प्रहरीको प्रारम्भिक अनुमानअनुसार बस ब्रेक फेल वा नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । चालकको निधन भएकोले दुर्घटनाको कारण खुल्न सकेन् ।

वैशाख १७ गते रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको ज्यान गयो । दुर्घटना रोल्पाको थवाङ गाउँपालिका–१ जलजला क्षेत्रमा भएको थियो । रुकुम पूर्वबाट वैशाख पूर्णिमाको मेला÷पूजामा जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप कच्ची सडकबाट करिब ८ सय मिटर तल भिरमा खसेको थियो भने उद्यार कार्य पनि १३ घण्टा चलेको थियो । प्रारम्भिक रूपमा साँघुरो कच्ची सडक, बढी यात्रु बोकेकोले दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यी दुई पछिल्लो समय मात्रै लुम्बिनी प्रदेशमा भएका ठुला सवारी दुर्घटना हुन् जसमा ठुलो जनधनको क्षति हुनपुग्यो । लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको संख्या र यसबाट हुने क्षति वर्षेनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९÷०८० देखी चालु आर्थिक वर्षको जेठ पहिलोहप्ता सम्मको विवरण अनुसार दुर्घटना र मृतकको संख्या लगातार बढिरहेको देखिएको हो ।

आर्थिक वर्ष २०७९÷०८०मा ८९२ वटा दुर्घटना दर्ता भएकामा ०८१÷०८२ मा यो संख्या ३ हजार ४७९ पुगेको छ, जुन झण्डै चार गुणाले बढी हो । यता चालु आबको जेठ पहिलो हप्तासम्मको विवरण अनुसार ४ हजार ५०२ दुर्घटना भएका छन् ।

यद्यपि दुर्घटनाको यो उल्लेख्य वृद्धिका पछाडि प्रशासनिक कारण पनि रहेको बताइएको छ। गत वर्षहरूमा सामान्य दुर्घटना डिआईआरएस अर्थात डिजास्टर ईन्फरमेशन एण्ड रिपोर्टिङ सिस्टममा इन्ट्री नगरिएकामा यस वर्षदेखि वृद्धि देखिएको अधिकारीहरूसामान्य दुर्घटना पनि अनिवार्य रूपमा दर्ता गर्न थालिएकाले दुर्घटनाको संख्या बढिरहेको देखिएको नेपाल प्रहरी राजमार्ग शुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी उपरिक्षक निशान थापाले बताए ।

मृत्युदर क्रमशः बढ्दै
दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि वर्षेनि बढ्दै गएको छ। आ.व. २०७९÷०८० मा ८९२ वटा दुर्घटनामा परि ४६२ जनाको मृत्यु भएको थियो । यता ०८०÷०८१ मा ११२० सवारी दुर्घटनामा ४९६ जनाले ज्यान गुमाएका छन् । ०८१÷०८२ मा ३ हजार ४७९ सवारी दुर्घटना हुँदा ५०६ जनाले ज्यान गुमाए।
चालु आबमा ४ हजार ५०२ दुर्घटना हुँदा ५०४ जनाको ज्यान गईसकेको छ । आब सकिन करबि २ महिना बाँकी रहेकोले मृतक गत अब भन्दा धेरै हुने देखिन्छ । तराईका जिल्लाहरू रुपन्देही, नवलपरासी, बाँके र बर्दियामा मृत्युदर बढेको पाइएको छ भने पहाडी जिल्लाहरू पाल्पा, प्युठान र रोल्पामा भने मृत्युदर घटेको तथ्याङ्कले देखाएको छ।

घाइतेको संख्या उच्च

दुर्घटनामा घाइते हुनेको संख्यामा झनै चिन्ताजनक वृद्धि देखिएको छ। आ.व. २०७९÷०८० मा १,२७६ जना घाइते भएकामा २०८०÷०८१ मा १,६९३ र २०८१÷०८२ मा ५,६९१ जना घाइते भए। यता चालु आबमा पनि ७ हजार ५४४ रहेको छ । एकै वर्षमा घाइतेको संख्या करिब ६ गुणाले वृद्धि भएको यो तथ्याङ्कले प्रदेशमा सडक सुरक्षाको अवस्था गम्भीर रहेको संकेत गर्छ।

दुर्घटनामा सबैभन्दा धेरै मोटरसाईकल

सवारी दुर्घटनामा सबैभन्दा धेरै दुईपांग्रे मोटरसाईकल परेका छन् । चालु आबमा भएका दुर्घटना मध्य ६३.१७ प्रतिशत मोटरसाईकल दुर्घटनामा परेका हुन् । ३ हजार ९३३ मोटरसाईकल दुर्घटनामा पर्दा जिप तथा कार ६०८ वटा दुर्घटनामा परेका छन् । ट्याम्पो ४६५, रिक्सा ४४१, बस १८२ वटा, ट्रक १७९, माईक्रो १०८, टिप्पर ९४ दुर्घटनामा परेका छन् । ट्याक्टर १७६, डोजर तथा लोडर ९ र अन्य ३० वटा रहेको राजमार्ग शुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।


कारवाही घट्यो, दुर्घटना बढ्यो

यातायात नियम उल्लंघनमा हुने कारवाहीको संख्या भने घट्दो क्रममा छ। आ.व. २०७९÷०८० मा २ लाख ९६ हजार ३४५ कारवाही भएकामा २०८०÷०८१ मा २ लाख ३३ हजार २९६ र २०८१÷०८२ मा १ लाख ७० हजार ८० मात्र कारवाही भएको देखिन्छ। चालु आबमा ९४ हजार २७५ मात्रै सवारी कारवाहीमा परेका छन् । कारवाहीको संख्या घट्दै जाँदा दुर्घटना बढ्दै जानु प्रशासनिक दृष्टिकोणबाट गम्भीर प्रश्न उठाउँछ।

सवारी सुरक्षाबारे जनचेतना कार्यक्रम उल्लेख्य रूपमा बढाएको कार्यालयका प्रमुख थापाले जानकारी दिए । आ.व. २०७९÷०८० मा ६,८९६ कार्यक्रम सञ्चालन गरी ३,५८,७६३ जनालाई लाभान्वित गरिएकामा २०८१÷०८२ मा १५,७२१ कार्यक्रम मार्फत ८,५३,०५८ जनासम्म पहुँच पु¥याइएको छ, जुन २९.२३ प्रतिशतको वृद्धि हो। चालु वर्ष बैशाख सम्म ८,०२३ कार्यक्रम सञ्चालन भई ३,५८,१७६ जना लाभान्वित भएका छन्।

जनचेतना कार्यक्रम बढाइए पनि दुर्घटना र मृत्युको संख्या घटाउन नसकिएको अवस्थाले रहेको बताउँदै थापाले सडक पूर्वाधार, सवारी साधनको गुणस्तर, चालकको व्यवहार र यातायात व्यवस्थापनमा थप कडाइको आवश्यक रहेको बताउछन् ।
यता मानव अधिकार तथा शान्ती समाज रुपन्देहीका अध्यक्ष अर्जुन ज्ञवालीले सवारी कारवाहीको संख्यामा आएको गिरावटलाई पनि दुर्घटना बढ्नुको एक प्रमुख कारण देखिएको बताउँछन् ।
उनले पछिल्लो समय दुईपांग्रे सवारीहरुले अनियमित तरिकाले सवारी चलाउने तथा मुख्य सडकहरुमा नै स्टनन्डहरु गर्नेहुँदा पनि समस्या भएको उनी बताउँछन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %