सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै

सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
0 0
Read Time:3 Minute, 22 Second

दाङ । आर्थिक सहयोग जुटाएर तुलसीपुर उपमहानगरपालिका–४ स्थित एका घरका चार दृष्टिविहीनलाई आवास निर्माण बनाउन थालिएको छ । तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि आवास निर्माण थालिएको हो ।

तेइस वर्षीय गणेश गन्धर्व, उनकी बहिनी गङ्गा, जमुना र मनिषा जन्मजात नै दृष्टिविहीन हुन् । मनिषा दृष्टिविहीनसँगै बहुअपाङ्ग हुन् । सोह्र वर्षीया उनी हिँडडुल गर्न पनि सक्दिनन् ।

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका गरायलाका आमा रुपा गन्धर्वसहित उनीहरु २०६८ सालमा दाङको तुलसीपुर झरिन् । रुपाले भनिन्,“सबै छोराछोरी दृष्टिविहीन जन्मिएपछि श्रीमान्ले अर्को विवाह गर्नुभयो ।” यसपछि रुपालाई श्रीमान्ले कुनै हेरचाह नै नगर्ने तथा घरबाट निकाला गरेपछि बिचल्ली अवस्थामा उनलाई उद्धार गरेर तुलसीपुरस्थित रक्षाचौर ल्याइएको थियो ।

विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा उनीहरु दाङको तुलसीपुर आए पनि भाडाको घरमा बस्दै आएका थिए। “कहिले कसको घरमा भाडामा बस्यौँ, कहिले कसकोमा”, गणेशले भने, “लामो समय कसैले पनि बस्न दिएनन् ।” यसरी भाडामा बस्दा पनि पीडा झेलेका उनीहरुको अहिले आवास निर्माण हुन थालेपछि भने खुसी छन् । सारङ्गी बजाएर, गीत गाएर गणेशले आम्दानी गर्थे, त्यसैले घरखर्च चल्ने गरेको थियो । अब घर बनेपछि भाडा तिर्नुनपर्ने हुँदा सहज हुने गणेशले बताए । “भाडा तिर्न पनि गाह्रो हुन्थ्यो, घर बनेपछि भने अब सहज हुने भयो”, उनले भने ।

करिब रु १५ लाख लागत अनुमान गरेर घर निर्माण सुरु गरिएको निर्माण समितिका संयोजक केसीले बताए। “सबै सन्तान दृष्टिविहीन, बास पनि नभएपछि हामीले घर बनाइदिने गरी काम अघि बढाएका छौँ”, उनले भने । अबको एक महिनाभित्र घर निर्माण पूरा भइसक्ने उनको भनाइ छ । यसै क्रममा केसीले अहिलेसम्म घर निर्माणका लागि रु ४० हजार सहयोग गरिसकेका छन् ।

निर्माण भइरहेकाले लाग्ने सबै खर्च व्यहोर्ने गरी काम अघि बढाइरहेको उनले बताए । दृष्टिविहीन गणेशसहित गङ्गा, जमुना गुरुजजुर नमूना माविमा ब्रेललिपिमार्फत अध्ययन गर्छन् । हाल आमा रुपाको खातामा विभिन्न सङ्घसंस्थाको सहयोगमा रु सात लाख सहयोग सङ्कलन भएको थियो । त्यो रकम बैंकमा मुद्दति खातामा छ । त्यसबाट आउने मासिक ब्याजले पनि घर खर्च चलाउन सजिलो भएको जनाइएको छ ।
रासस

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %