गाडीमा ढुंगा हानेको आरोपप्रति कांग्रेसको आपत्ति
बुटवल। कांग्रेसका कार्यकर्ताले गाडीमा ढुंगा हानेको भन्ने सूचनाको खण्डन गर्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
काग्रेस चुनाब प्रचारप्रसार समिति बुटवलका संयोजक रामबहादुर कार्कीले कांग्रेसले शान्तिपूर्ण रुपमा चुनाबी अभियान सञ्चालन गरिरहेको र अरु उम्मेदवारलाई कुनै अवरोध गर्ने कार्य नगरेको जनाएका छन् ।
उनले भने-‘कांग्रेस लोकतान्त्रिक अभ्यासमा विश्वास राख्छ, कांग्रेसले अरु उम्मेदवारको कार्यक्रम प्रभावित गर्ने वा अराजनीतिक क्रियाकलापमा संलग्न हुने कार्य गर्दैन, सो कार्यमा संलग्न जो कोही भएपनि कारबाहीको दायरामा ल्याउन हाम्रो जोडदार माग छ ।’
कांग्रेस बुटवल नगर सचिव छायाँ पोखरेलले कुनैपनि उम्मेदवारलाई लक्षित गरेर कांग्रेसका कोही नेता कार्यकर्ताले आक्रमण नगरेको बताए । उनले भने-‘कांग्रेस आफ्नो चुनाबी अभियानमा खटिएको छ, यस्ता कार्यमा हाम्रो कुनैपनि संलग्नता छैन, यसमा संलग्न जो भएपनि कारबाही गर्नुपर्छ।’
उनले एमालेले भ्रामक सूचना फैलाएर भावनात्मक खेल खेल्न खोजेको बताए।’यस्ता गैरकानुनी कार्यमा पार्टीलाई कुनै आधारविना मुछ्नु गलत हो, चुनाबी चर्चा कमाउनका लागि प्रोपोगाण्डा गर्नु गलत हो, यो गैरकानुनी कार्यमा लाग्ने जोकोही भएपनि कानुनी कारबाहीको माग गर्दछु-उनले भने-अनावश्यक आक्षेप लगाउने र भ्रामक सूचना फैलाउनेलाई समेत कारबाहीका लागि माग गर्दछु।’

लेखकको सम्वन्धमा