रूपन्देहीका दुई स्थानबाट सशस्त्रद्वारा ३६ लाख बढीको भन्सार छलीको सामान बरामद
बुटवल । सशस्त्र प्रहरीले भन्सार छली गरी भित्र्याइएको १४ लाख रुपैयाँ भन्दा बढी मूल्यको सामान बरामद गरेको छ । यस्तै, सामान बोकेका दुई वटा गाडी पनि नियन्त्रणमा लिइएको छ । रूपन्देहीका दुई स्थानबाट सामानसहित गाडी नियन्त्रणमा लिइएको हो ।
प्रहरी बल नेपाल सुरक्षा वेश बुटवलले बुटवल उपमहानगरपालिका–६, ट्राफिक चोकस्थित सिद्धार्थ राजमार्गबाट पोखरातर्फ लैजान लागिएको ६१ बोरा चिउरा र लत्ताकपडासहित लु १ ज ३७९६ नम्बरको जिप नियन्त्रणमा लिएको छ । उक्त सामाग्रीको मूल्य ७ लाख ६४ हजार ५ सय ३५ रूपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
यस्तै, बुटवल उपमहानगरपालिका–१३, जितगढीस्थित पूर्वपश्चिम राजमार्गबाट करिब ६ लाख ४० हजार २ सय ३० रूपैयाँ बराबरको सामानसहित अर्को लु १ च ५६२० नम्बरको गाडीमा भन्सार छलेर ल्याउँदै गरेको लत्तकपडा तथा जुत्तचप्पलसहितको गाडी पनि नियन्त्रणमा लिइएको छ ।
दुई स्थानमा बरामद भएका सामानको १४ लाख ४ हजार ७ सय ६५ रुपैयाँ र दुई गाडीको २२ लाख मूल्य गरी ३६ लाख ४ हजार ७ सय ६५ रुपैयाँ कायम गरी भैरहवा भन्सार कार्यालय दाखिला गरिएको छ ।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले दुवै गाडीबाट ओसारपसार गरिएको सामान र गाडी बिहीबार राति नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको जानकारी दिए ।

लेखकको सम्वन्धमा