लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघको ८ औं साधारणसभा

बुटवल। लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ रुपन्देहीको ८ औं वार्षिक साधारणसभा तथा नयाँ वर्ष २०८० को क्यालेण्डर विमोचन शनिबार बुटवलमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष कमल छिनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल टेलरिङ्ग व्यवसायी महासंघका केन्द्रीय सह–कोषाध्यक्ष तथा संस्थाका पूर्व अध्यक्ष प्रताप परियारले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका थिए ।
प्रमुख अतिथि परियारले बोल्दै व्यवसायीको हकहितका लागि संस्थाले विभिन्न किसिमका सिलाई तालीमहरु प्रदान गर्दै आएको बताए । उनले व्यवसायिक एकताले मात्रै संस्थाको विकासमा टेवा पुग्ने भएकाले सबै सदस्यहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
त्यस्तैगरी नेपाल टेलरिङ्ग व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी टेलरिङ्ग व्यवसायी संघका अध्यक्ष राजु देवानले बोल्दै व्यवसायीको हक अधिकार र संरक्षणका लागि टेलरिङ्ग व्यवसायी खोल्नु परेको बताए । उनले सिलाई व्यवसायी सीपको धनी भएतापनि राज्यले व्यवसायीको हितमा काम नगरेको गुनासो गरे ।
कार्यक्रममा नवलपरासी टेलरिङ्ग व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष लाल बहादुर साहनी, संस्थाका सल्लाहकार गोपाल परियार, सदस्यहरु राम बहादुर परियार, शिव परियारलगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा संघले व्यवसायी सदस्यहरुका लागि सिलाईको ज्याला दररेट सूची समेत सार्वजनिक गरेको छ ।
कार्यक्रममा संस्थाको उन्नती तथा प्रगतिमा अहोरात्र खट्ने संस्थाका वरिष्ठ उपाध्यक्ष रविन रायमाझी, सचिव देवेन्द्र परियार, कोषाध्यक्ष भिमलाल पाण्डे, सहसचिव जगदीश सुनाम, सस्यहरु राजु छिनाल र सन्दीप परियारलाई प्रशंसा पत्रले सम्मान गरेको छ । सोही अवसरमा संघमा आवद्ध ३० जना नयाँ सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष कमल छिनालले बोल्दै व्यवसायीको हितका लागि ५ लाखको जीवन बिमा गर्दै आएकोमा यसलाई वृद्धि गर्दै ७ लाख सम्म लैजाने बताए । उनले संस्थामा तदारुकताका साथ चासो दिएर सबै सदस्यहरु एकसाथ हातेमालो गरी अघि बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा संघका कोषाध्यक्ष भिमलाल पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।
संस्थाका वरिष्ठ उपाध्यक्ष रविन रायमाझीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य राजु छिनालले गरेका थिए । विं सं. २०७२ सालमा विधिवतरुपमा दर्ता भई ३० जना व्यवसायी सदस्यहरुबाट अघि बढेको संस्था ८ औं वार्षिक साधारणसभामा आईपुग्दा १ सय १५ जना सदस्यहरु संस्थामा आवद्ध रहेका छन् ।
लेखकको सम्वन्धमा