बुटवल जेसीजद्वारा बृहत रक्तदान
बुटवल । बुटवल जेसीजले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेकोछ । बृटिश म्यानेजमेन्ट कलेजसगको सहकार्यमा बुटवल जेसीज सचिवालयको दोर्ण सभाकक्षमा कार्यक्रम गरिएको हो ।
बुटवल जेसीजका निरुपित उपाध्यक्ष समेत रहनुभएका नेपाल जेसीजका उपाध्यक्ष भिम बहादुर कुवरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा झन्डै ५० पोइन्ट ब्लड संकलन भएको कार्यक्रम संयोजक हिम्मत घिमिरेले जानकारी दिनुभयो । जसमध्ये २१ पोइन्ट ब्लड पहिलो पटक रक्तदान गर्नेहरुबाट संकलन भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल जेसीजका उपाध्यक्ष भिम बहादुर कुवरले समुदाय क्षेत्रमा योगदान गर्ने उदेश्यले आयोजित रक्तदान जस्तो पवित्र कार्यक्रम गरेकोमा बुटवल जेसीजको मुक्तकण्ठले प्रसम्सा गर्दै निरन्तर रूपमा यस्तै रचनात्मक कार्यक्रम गर्न आग्रह गर्नुभएको थियो ।
बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुवरले रगतको अभावले कसैको पनि अकालमा ज्यान नजाओस् भनेर रक्तदान कार्यक्रम राखिएको जानकारी दिदै यसलाइ यो बर्षभरी निरन्तर रूपमा ३/३ महीनामा आयोजना गरिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै बृटिश म्यानेजमेन्ट कलेजका डाइरेक्टर सुशील कुवरले बुटवल जेसीजले गर्ने हरेक कार्यमा होस्टेमा हैस्से गर्दै सहकार्य गर्ने बताउनुभयो । उहाले आफ्नो कलेजमा सिएका कक्षाहरु संचालन भैरहेको उल्लेख गर्दै आफ्नोमा अध्ययन गर्न आउने विद्यार्थी सिएमा फेल भए पैसा फिर्ता गर्ने दावी गर्दै सिएको लागि बृटिश म्यानेजमेन्ट कलेज आउन आग्रह गर्नुभयो ।
रक्तदान कार्यक्रममा जेसीआइका पुर्व अन्तर्राष्ट्रिय उपाध्यक्ष अनुपमान सैन्जु, बुटवल जेसीज बोर्ड अफ ट्रस्ट्रीजका अध्यक्ष निर्मल कुमार लाकौल, पुर्व अध्यक्ष बिन्ध्या किशोर जोशी,गोपाल चापागाईं एवं बुटवल रक्तसञ्चारका कर्मचारी, बृटिश म्यानेजमेन्ट कलेजका डाइरेक्टर सुशील कुवर, बुटवल जेसीजका पदाधिकारीहरु, जेसी सदस्य एवं ननजेसीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रम बुटवल जेसीजका अध्यक्ष हरि बिक्रम कुवरको अध्यक्षता, कार्यक्रम संयोजक हिम्मत घिमिरेको आस्था पाठ र महासचिव चन्द्रकान्त डुम्रेको संचालनमा सम्पन्न भएको थियो।

लेखकको सम्वन्धमा