डढेलो रोक्न अभियान र नियन्त्रण दस्ता
भैरहवा– अर्घाखाँचीका सामुदायिक तथा निजी आवादी वन डढेलोको उच्च जोखिममा रहेकाले नियन्त्रणका लागि अभियान संचालन गरिएको छ । सुक्खा मौसमसँगै हावाहुरी चल्दा अधिकांश वन डढेलोको उच्च जोखिममा रहेपछि डिभिजन वन कार्यालयको सहयोगमा उक्त अभियान सञ्चालन भएको हो । वनको डढेलोबाट हुने वतावरणीय तथा धनजनको क्षति रोक्न दस्ता निर्माण गरी अभियान संचालन गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
अभियान अन्तर्गत २५ वटा प्रहरी युनिटबाट बस्तीनजिक रहेका जलनशील पदार्थ पातपतिङ्गर हटाउने, अग्नि रेखा कोर्ने, घरनजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने र सुकेका पातपतिङ्गरको व्यवस्थापन गर्ने काम भएका छन् ।
डिभिजन वन कार्यालयका अनुसार जिल्लाको अधिकांश ठाउमा सामुदायिक वन तथा निजी आवादी वन डढेलोको उच्च जोखिममा छन् । डिभिजन वन कार्यालयका प्रमुख मोहनप्रसाद श्रेष्ठले अर्घाखाँचीका वन डढेलोको उच्च जोखिममा भएकाले सबै व्यक्ति सचेत हुन आवश्यक भएको बताए । डढेलोबाटसतर्क रहन र सावधानी अपनाउन उनले सवैलाई आग्रह पनि गरेका छन् ।
वन कार्यालयको तथ्याङ्क अनुसार मानवीय कारणले ८० प्रतिशत, प्राकृतिक कारणले १० प्रतिशत तथा १० प्रतिशत नागरिकलाई थाहा नभएका कारण डढेलो लाग्ने गरेको छ ।
अर्घाखाँचीका ४ सय ४६ वटा सामुदायिक वनबाट आगलागी नियन्त्रण गर्ने कार्ययोजना र जोखिममा रहेका १६ क्षेत्रमा विशेष दस्ता परिचालन गरिएको श्रेष्ठले जनाए ।
गत वर्ष आगलागीबाट अर्घाखाँचीमा ४२ घर पूर्ण रूपमा जलेका थिए । ५८ गोठ जल्दा ५३ वटा चौपाया मरेका थिए । २ हजार १८ हेक्टर क्षेत्रफलमा डढेलो लाग्दा ५ सय ८३ क्युफिट काठ पनि जलेर नष्ट भएको थियो ।
यसैबँच, अर्घाखाचीको भूमिकास्थान नगरपालिकालाई शून्य डढेलो नियन्त्रण नगरपालिका घोषणा गरिने योजना अनुसार ‘वन डढेलो नियन्त्रण दस्ता’ निर्माण गरिएको छ ।
उक्त दस्ताले पालिका भित्र डढेलोको उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गरी नियन्त्रणकालागि विभिन्न योजना संचालन गर्ने छ ।
भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले विगतमा डढेलो नियन्त्रण गर्न नसक्दा धेरै क्षति बेहोर्न परेकाले यस वर्ष शून्य डढेलो नियन्त्रण नगरपालिका घोषणा गर्न दस्ता निर्माण गरेर अभियान सुरु गरिएको बताएका छन् ।
सामुदायिक वन उपभोक्ता समूह, कर्मचारी तथा सरोकारवाला निकाय र समुदायसँग अन्तरकृया गर्दै प्रहरीसहितको दस्ता परिचालन भएको नगरप्रमुख थापाले बताए । ‘नागरिकलाई सचेत हुन सञ्चार माध्यमबाट सूचना प्रवाह गर्नुका साथै अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको छ’, उनले भने ।

लेखकको सम्वन्धमा