रूपन्देहीमा शृङखलाबद्ध व्यक्ति हत्याका घटना, स्थानीय त्रसित
भैरहवा। रुपन्देहीमा पछिल्लो समय शृङखलाबद्ध व्यक्ति हत्याका घटना भएका छन् । महिनैपिच्छे हत्याका घटना भइरहँदा स्थानीय बासिन्दा त्रसित छन् । फागुन ८ गते सियारी गाउँपालिका–२, भगदरीस्थित सडक किनारको खेतमा परालले छोपिएको अवस्थामा दाङकी ४० वर्षीया संगीता चौधरीको शव फेला पर्याे । हत्या आरोपमा प्रहरीले एक हप्ता पछि तिलोत्तमामा बस्दै आएका ४२ वर्षीया अजय भनेर चिनिने अमिरिका थारुलाई पक्राउ गरेको छ ।
अनुसन्धानका क्रममा मादकपदार्थ सेवन गरेका यी दुईबीच पहिलो भेटमै अमिरिकाले संगीतालाई यौन प्रस्ताव राखेको तर अस्वीकार गर्दा ढुंगाले टाउको थिचेर हत्या भएको खुल्यो । ‘उनीहरुबीच पहिला चिनजान हुँदैन, तर मदिरा सेवन गरेको पसल भेट पछि उनीहरुमा केही कुरामा विवाद भई घटना हत्यासम्म पुग्छ’, रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले भने । कार्कीले यी दुईबीच मदिरा पसलमा देखभेट भए पनि फोनमा कुराकानी हुने गरेको नपाइएको जनाए । अनुसन्धानका क्रममा पनि आरोपी अमिरिकाले उक्त कुरा स्वीकारेका छन् ।
चौधरीको हत्या भएको ९ दिनपछि फागुन १७ गते जिल्लाको मायादेवी गाउँपालिक–२, डेङ्गचहवाका २९ वर्षीय राकेशसिंह लोधको घरमै हत्या भयो । स्थानीयका अनुसार लोधको टाउकामा चार–पाँच गोली प्रहार भएको छ । प्रहरी स्रोतका अनुसार लोधको हत्या गर्ने अरु कोही नभएर नजिकका नातेदार हुन् । तर, हत्या गरेर फरार छन् । अविवाहित लोधको सम्पत्ति हत्याउन हत्या भएको आशंकामा अनुसन्धान भइरहेको छ । यी प्रतिनिधिमूलक घटना हुन् ।
प्रहरी तथ्यांक अनुसार रुपन्देहीमा चालु आर्थिक वर्षको भदौ यताका साढे ६ महिनामा मात्रै ११ जनाको हत्या भएको छ । मृतकमध्ये ५ जना पुरुष र ६ जना महिला छन् । यी घटनामा संलग्न १२ जना पक्राउ परिसकेका छन् । गत आर्थिक वर्षभरीमा १२ जनाको हत्या भएको थियो । त्यसमा ७ पुरुष र ५ महिला छन् । प्रहरी तथ्यांकले नै पछिल्ला केही महिनायता मासिक दुईजनाको हत्या भएको देखाउँछ ।
व्यक्ति हत्या बढीरहे पनि प्रहरीले लोध बाहेक अन्य घटनामा संलग्नलाई पक्राउ गरिसकेको छ । तर, निरन्तरका हत्याका घटना बढ्दै जाँदा प्रहरीलाई समेत टाउको दुखाई बनेको छ । कतिपय अवस्थामा हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ । डीएसपी कार्कीका अनुसार पछिल्ला कर्तव्य ज्यानका घटनामध्ये ७ वटा परिवारभित्रै सम्पत्ति र अन्य घरायसी विवादले घटेका छन् । ‘त्यसबाहेक अन्य रिसइबी, झैझगडा र केही यौनसम्बन्धले निम्त्याएका घटना हुन्’, उनले भने ।
जिल्लामा भइरहेका शृङ्खलाबद्ध व्यक्ति हत्याका घटनाले आफूहरुमा भय सिर्जना गरेको मायादेवी २ का हरिकेष हरिजनले बताए । उनले शान्ति सुरक्षाको चिन्ताले सताउन थालेको बताए । ‘कहाँ कतिबेला के हुन्छ थाहै छैन’, उनले भने, ‘प्रहरीले निगरानी बढाउन जरुरी छ ।’ स्थानीय अशोक लोधले यसअघिका घटनामा प्रहरीको अनुसन्धान फितलो हुँदा मायादेवीमा पुनः घटना घटेको बताउँछन् । उनले प्रहरीले शान्ति सुक्षा भन्दा आफ्नो फाइदा हेर्न थालेको जनाए ।
रुपन्देहीका भित्री बस्तीसम्म प्रहरी युनिट छन् । तर, हत्यासम्म पुगेका घटनाहरु प्रहरीसमक्ष नआउँदै घटेकाले प्रहरीले सुइको समेत पाउँदैन । पारिवारिक बेमेलले निम्तिएका घटनाहरुमा संलग्न पक्राउ पर्दा कयौं परिवार नै तहसनहस भएका पनि छन् । अर्कातर्फ अपरिचित व्यक्तिसँग सामाजिक संजालको भरमै चिनजान गरेर यौन प्रस्ताव आउने र अस्वीकार गर्दा तथा सम्बन्ध पछि खटपट हुँदा पनि हत्या जस्ता जघन्य अपराध भएका छन् । समाजशास्त्री उमेशचन्द्र रिजालले समाजमा हत्याहिंसाका घटना बढ्नु राम्रो नभएको बताउँछन् । उनले राज्य कमजोर हुँदा, शिक्षा, गरिबीले यस्ता घटना घट्ने बताउँछन् ।


लेखकको सम्वन्धमा