रुपन्देही ४ : ०७९ मा लोसपाबाट निर्वाचित शुक्ला जसपाका उमेदवार, दोस्रो भएका यादवको अर्कै दल
बुटवल । रुपन्देहीको दक्षिणी क्षेत्र रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा २२ जना उमेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । राजनीतिक दलबाट १५ र स्वतन्त्र ७ जनाले उमेदवारी दिएका छन् । पूर्वमन्त्रीदेखि पूर्वसांसद चुनावी मैदानमा आमनेसामने हुँदा प्रतिस्पर्धा रोचक देखिएको छ ।
०७९ को चुनावमा यो क्षेत्रबाट तत्कालीन लोसपा, नेपालका सर्वेशन्द्रनाथ शुक्ला निर्वाचित भएका थिए । शुक्ला यसपटक जसपा, नेपालबाट उमेदवार छन् । अहिले जसपा नेपाल र लोसपा नेपालबीच एकता भइ जसपा, नेपाल बनेको छ ।
०७९ मा नेपाली कांग्रेसका प्रमोदकुमार यादव निकटतम प्रतिद्वन्द्वी भएका थिए । शुक्लाले २८ हजार मत ल्याएर निर्वाचित हुँदा यादवले २२ हजार ७०४ मत पाएका थिए । ०७९ मा कांग्रेसबाट उमेदवार बनेर पराजित भएका यादव यसपटक नेकपा (एमाले) बाट उमेदवार छन् । ०७४ मा भने शुक्लालाई पराजित गर्दै यादव विजयी भएका थिए । त्यसकारण शुक्ला र यादव दुवैलाई बलियो उमेदवारको रूपमा हेरिएको छ ।
०७० मा शुक्ला तमलोपाबाट संविधान सदस्यमा निर्वाचित हुँदा ०६४ मा यो क्षेत्रबाट तत्कालीन मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादव निर्वाचित भएका थिए ।
विगतका निर्वाचनहरूमा यो क्षेत्रमा नेपाली कांग्रेसले पनि राम्रै मत पाएको देखिन्छ । अहिले यो क्षेत्रमा कांग्रेसले आशुतोष मिश्रलाई उमेदवार बनाएको छ । त्यसकारण उनको चुनौती पनि कडा हुने अपेक्षा गरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट केन्द्रीय सदस्य बाबुलाल यादव उमेदवार छन् । उनी ०६४ मा एमालेबाट उमेदवार बनेका थिए । ०७९ को स्थानीय तहको चुनावमा रुपन्देहीको सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका यादव पराजित भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले यो क्षेत्रमा कन्हैया बनियालाई अघि सारेको छ । बानियाँ ०७९ को निर्वाचनमा रुपन्देही ४(क) मा तत्कालीन लोसपा, नेपालबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर चुनावी मैदानमा खडा भएका हुन् ।
त्यस्तै, जनमत पार्टीबाट भोपेन्द्र प्रसाद यादव उमेदवार छन् । पार्टीको केन्द्रीय सचिव रहेका यादव ०७९ सालमा पनि उनी जनमतबाटै चुनाव लडेका थिए । त्यसबेला यादवले १५ हजार ५२६ मत ल्याएर तेस्रो भएका थिए । उनी दोस्रोपटक चुनावी मैदानमा छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यो क्षेत्रमा अहमदिन मुसलमानलाई उमेदवार बनाएको छ । त्यस्तै, नेपाल मजदुर किसान पार्टीबाट कमल कोजु, मंगोल नेशनल अर्गनाइजेसनबाट कर्णबहादुर गुरुङ, नेपाल जनता पार्टीबाट जंगबहादुर यादव, नेकपा (संयुक्त) बाट फडिन्द्र तिवारी, श्रम संस्कृति पार्टीबाट जुठे दमाई, आम जनता पार्टीबाट ज्योती थापा, नेकपा (माओवादी) बाट विष्णुप्रसाद तिवारी र राष्ट्रिय जनमुक्ति पार्टीबाट सुदर्शन अहिर उमेदवार छन् ।
त्यस्तै, अदालत चाई, मोहम्मद आरिफ मुसलमान खान, रमेश कुर्मी, राधेश्याम बनिया, विनय कुमार चौधरी, विश्वनाथ शर्मा र शसिकला पाण्डेय स्वतन्त्र उमेदवारी दिएर चुनावी प्रतिस्पर्धामा छन् ।
०७९ को मत परिणाम
यो क्षेत्रबाट ०७९ को निर्वाचनमा सर्वेन्द्रनाथ शुक्ला (लोसपा, नेपाल) २८ हजार मतसहित निर्वाचित भएका थिए । प्रमोद कुमार यादव (नेपाली कांग्रेस) ले २२ हजार ७०४ मत पाएर निकटतम प्रतिद्वन्द्वी हुँदा तेस्रो स्थानमा भोपेन्द्र प्रसाद यादव (जनमत पार्टी) ले १५ हजार ५२६ मत पाएका थिए । ओम प्रकाश यादव (जनता समाजवादी पार्टी, नेपाल) ले २ हजार ६२३ र महेन्द्र नाथ सिंह राई (नेपाल जनता पार्टी) ले १ हजार ८६ मत पाएका थिए ।
समानुपातिकतर्फ लोसपा, नेपालले २२ हजार ३७, नेपाली कांग्रेसले १८ हजार ८३२, जनमत पार्टीले १६ हजार ४५८, नेकपा एमालेले २ हजार ८२३, नेपाल जनता पार्टीले २ हजार ६९४, जनता समाजवादी पार्टी, नेपालले २,२६२ र राष्ट्रिय स्वतन्त्र पार्टीले १,६५७ मत पाएका थिए ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले १,१४५, तत्कालीन नेकपा (माओवादी केन्द्र) ले १,०८६ र राष्ट्रिय प्रजातनन्त्र पार्टीले ९०४ मत पाएका थिए ।
रुपन्देही-४ मा ६६ हजार ६२ पुरुष, ५० हजार ११० महिला गरी १ लाख १६ हजार १७२ मतदाता छन् । यहाँ ४८ मतदानस्थल र १३३ मतदान केन्द्र छन् ।

लेखकको सम्वन्धमा