बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
बुटवल । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आयोजना गर्दै आएको ‘अपाचे रेस एक्सपेरियन्स (ARE) जीपी’ अन्तर्गत पहिलो ‘अपाचे रेसिङ क्वालिफायर’ राउन्ड शनिबार बुटवलमा हुने भएको छ।
तिलोत्तमा–५, मणिग्रामस्थित श्री गौरांग इजीवे ट्रायल सेन्टरमा हुने क्वालिफायरमा सहभागी राइडरका लागि कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुनेछ भने सञ्चारकर्मी, अतिथि तथा कन्टेन्ट क्रिएटरका लागि बिहान ११ बजेदेखि कार्यक्रम खुला हुनेछ।
क्वालिफायरमा सहभागी राइडरलाई राइडिङ पोस्चर, कर्नरिङ, लिनिङ, ब्रेकिङ र भिजन कन्ट्रोललगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइनेछ। प्रशिक्षणपछि १६० सीसी र २०० सीसी गरी दुई विधामा प्रतिस्पर्धात्मक रेस हुनेछ।
दुवै श्रेणीबाट शीर्ष तीन स्थान हासिल गर्ने राइडर काठमाडौंको सतुंगलस्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा हुने ग्रान्ड फिनालेका लागि छनोट हुनेछन्।
ग्रान्ड फिनालेमा दुवै श्रेणीका प्रथम हुने राइडरले भारतको मद्रास इन्टरनेसनल सर्किटमा आयोजना हुने अन्तर्राष्ट्रिय १६० सीसी र २०० सीसी रेसमा ५० भन्दा बढी देशका राइडरसँग प्रतिस्पर्धा गर्दै नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।
अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट हुने राइडरको आवश्यक यात्रा तथा आवास खर्च टीभीएस नेपाल र टीभीएस मोटर कम्पनीले व्यहोर्ने जनाइएको छ। फिनालेका विजेताले मोटोजीपी र मोटोसोलको भ्रमणसमेत गर्ने अवसर पाउनेछन्।
टीभीएसको बुटवल क्षेत्रका आधिकारिक डिलर बालाजी अटोमोबाइल्सका सञ्चालक विशाल जैसवालले ARE जीपीको पहिलो क्वालिफायर बुटवलबाट सुरु हुनु स्थानीय राइडरका लागि अवसर भएको बताए। उनले लुम्बिनी क्षेत्रमा प्रतिभाशाली राइडर रहे पनि उनीहरूलाई सुरक्षित र व्यावसायिक रूपमा सिक्ने तथा प्रतिस्पर्धा गर्ने मञ्च आवश्यक रहेको बताए।
बुटवलपछि काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखरामा समेत क्वालिफायर राउन्ड आयोजना गरिनेछ।
टीभीएसले सन् १९८२ देखि मोटरस्पोर्टमा सहभागिता जनाउँदै आएको जनाएको छ। कम्पनीले इन्डियन नेसनल मोटरसाइकल रेसिङ च्याम्पियनसिप ११ पटक जितेको तथा सन् २०१५ मा डकार र्यालीमा सहभागी हुने पहिलो भारतीय निर्माता बनेको दाबी गरेको छ।
क्वालिफायरमा सहभागी हुन इच्छुक राइडरले टीभीएस नेपालको आधिकारिक फेसबुक पेज ‘TVS Nepal’ वा इन्स्टाग्राम ‘@TVS_nepal’ मा रहेको क्यूआर कोडमार्फत दर्ता गर्न सक्नेछन्। कार्यक्रमको आधिकारिक कफी पार्टनर काठमाडौं कफी रहेको छ।

लेखकको सम्वन्धमा