सैनामैनामा कांग्रेस वडा सभापतिका उम्मेदवार पोख्रेलको निःशुल्क एम्बुलेन्स सेवासहित पाँचबुँदे प्रतिबद्धता
सैनामैना । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सैनामैना नगरपालिका–७ को वडा सभापतिमा उम्मेदवारी घोषणा गरेका शिव प्रसाद पोख्रेलले पार्टीका क्रियाशील सदस्यलाई निःशुल्क एम्बुलेन्स सेवासहित पाँचबुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।
‘एकता, समृद्धि र सशक्त कांग्रेस’ भन्ने नारासहित उम्मेदवारी दिएका पोख्रेलले समाजसेवा, अनुभव र इमानदारीलाई आफ्नो उम्मेदवारीको आधार बनाएका छन्।
पोख्रेलले रुपन्देहीभरका कांग्रेसका क्रियाशील सदस्य बिरामी परेको अवस्थामा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। पार्टीका सदस्यलाई स्वास्थ्यसम्बन्धी आपत्कालीन अवस्थामा सहयोग पुर्याउने उद्देश्यले यस्तो व्यवस्था गर्ने उनको भनाइ छ।
त्यस्तै उनले वडा संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउन पारदर्शिता र एकतालाई प्राथमिकता दिने बताएका छन्। संगठनमा युवा, महिला तथा सबै वर्गको सहभागिता सुनिश्चित गर्ने उनको प्रतिबद्धता छ।
सैनामैना–७ को समग्र विकासका लागि ठोस पहल गर्ने र स्थानीयस्तरमा कांग्रेसप्रति जागरण तथा सक्रियता बढाउने योजना पनि उनले अघि सारेका छन्। सदस्यता विस्तार गर्दै थप गतिशील वडा समिति निर्माण गर्ने उनको अर्को प्रतिबद्धता छ।
‘कांग्रेस बलियो बनाऔँ, सैनामैना–७ लाई समृद्ध बनाऔँ’ भन्ने आह्वानसहित पोख्रेलले वडा सभापतिमा आफूलाई सहयोग गर्न कांग्रेसका क्रियाशील सदस्यसँग आग्रह गरेका छन्।

लेखकको सम्वन्धमा