सैनामैना–७ को सभापति बन्न शिवराज पोख्रेल उम्मेद्वार
सैनामैना । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते देशभर वडा अधिवेशन हुँदैछ । सैनामैना नगरपालिका–७ को वडा सभापतिका लागि सामाजिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय शिवराज पोख्रेलले उम्मेदवारी दिएका छन् ।
संघर्षपूर्ण पारिवारिक पृष्ठभूमिबाट हुर्किएका पोख्रेल लामो समयदेखि व्यवसाय, सामाजिक सेवा तथा विभिन्न संघसंस्थामा सक्रिय रहँदै आएका छन् । बुबा नागेन्द्र पोख्रेलको निधनपछि आमाको संघर्ष र दाजुको त्यागमा हुर्किएका उनले पारिवारिक अभावलाई आफ्नो जीवनको संघर्ष र सिकाइको आधार बनाएका छन् ।
रूपन्देहीमा जन्मिएका पोख्रेलले श्री बुद्ध उच्च माध्यमिक विद्यालय हुँदै बुटवल बहुमुखी क्याम्पसबाट अध्ययन गरेका हुन् । उनले विसं २०६७ सालतिर होटल होलिडेसँग जोडिएर व्यवसायिक यात्रा सुरु गरेका थिए । व्यवसायसँगै उनी नेपाल लोकतान्त्रिक होटल व्यवसायी संघ, रूपन्देहीमा सक्रिय भए र नेतृत्वदायी जिम्मेवारीसमेत सम्हालेका छन् ।
पोख्रेल सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । LEO Club of Sainamaina हुँदै Lions Club of Sainamaina Starमा आबद्ध भएका उनले सन् २०२२/२३ मा फर्स्ट भाइस प्रेसिडेन्ट तथा २०२३/२४ मा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था, नवजीवन सहकारी संस्था तथा लम्टिया डिप ट्युबवेल भूमिगत जल सिँचाइ योजनामा समेत उनले विभिन्न जिम्मेवारी सम्हालेका छन् ।
व्यवसाय र सामाजिक क्षेत्रसँगै पोख्रेल राजनीतिक तथा सामाजिक गतिविधिमा पनि सक्रिय रहँदै आएका छन् । पारिवारिक रूपमा राजनीतिक गतिविधिको प्रभावमा हुर्किएका उनी पछिल्लो समय नेपाली कांग्रेससँगको राजनीतिक यात्रामा सक्रिय छन् ।
वडा सभापतिको उम्मेदवारीसँगै पोख्रेलले स्थानीयस्तरमा पार्टी संगठनलाई थप व्यवस्थित र जनमुखी बनाउने आफ्नो प्राथमिकता रहेको बताएका छन् । उनका अनुसार नेतृत्व पद प्राप्त गर्ने विषय मात्र नभई कार्यकर्ता तथा नागरिकसँग जोडिएर जिम्मेवारी पूरा गर्ने माध्यम हो ।
‘नेतृत्व भनेको अगाडि बसेर आदेश दिने होइन, आवश्यकता पर्दा सबैभन्दा अगाडि उभिएर जिम्मेवारी लिने हो,’ पोख्रेलले भने ।
व्यवसाय, सामाजिक सेवा र संगठनात्मक अनुभवलाई पार्टी संगठनमा उपयोग गर्दै वडा तहमा कांग्रेसलाई थप सक्रिय र जनतासँग जोड्ने लक्ष्यसहित आफूले सभापतिमा उम्मेदवारी दिएको पोख्रेलको भनाइ छ ।

लेखकको सम्वन्धमा