लुम्बिनीका १ हजार २०६ पत्रकार बीमाको दायरामा
दाङ । लुम्बिनी प्रदेशमा कार्यरत १ हजार २०६ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ । पत्रकारको पेशागत जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले आर्थिक सुरक्षाका लागि दुर्घटना बीमा कार्यक्रम सञ्चालन गरेको हो ।
लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगञ्ज र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिबीच सम्झौता गरी पत्रकारको दुर्घटना बीमा गरिएको हो ।
सम्झौतामा मन्त्रालयका तर्फबाट प्रदेश सचिव भरतमणि पाण्डे, राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगञ्जका शाखा प्रमुख नवीन शर्मा पौडेल र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य ओमप्रकाश गुप्ताले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रदेशमा क्रियाशील १ हजार २०६ जना पत्रकारको प्रतिव्यक्ति ५ लाख ६५ हजार रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पत्रकारहरूको सामूहिक दुर्घटना बीमा कार्यक्रम कार्यान्वयन गरिएको हो ।
समाचार संकलन, स्थलगत रिपोर्टिङ तथा विपद्, दुर्घटना र अन्य जोखिमयुक्त क्षेत्रमा पुगेर काम गर्नुपर्ने भएकाले पत्रकारिता पेशामा दुर्घटनाको जोखिम रहने गरेको मन्त्रालयले जनाएको छ । सम्भावित दुर्घटनाबाट उत्पन्न आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बीमा कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयको भनाइ छ ।
बीमा सम्झौताअनुसार दुर्घटनाबाट क्षति व्यहोरेका बीमित पत्रकारले तोकिएको बीमा रकम तथा प्रचलित बीमा व्यवस्थाअनुसारको सुविधा प्राप्त गर्नेछन् ।
प्रदेश सरकारले पत्रकारको पेशागत सुरक्षा तथा कल्याणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

लेखकको सम्वन्धमा