‘ह्वाइट एलिफेन्ट’ बन्ने जोखिममा बिआईसिसि, पुनर्जीवनका लागि अभियन्ता प्रकाशका ७ उपाय

‘ह्वाइट एलिफेन्ट’ बन्ने जोखिममा बिआईसिसि, पुनर्जीवनका लागि अभियन्ता प्रकाशका ७ उपाय
0 0
Read Time:3 Minute, 50 Second

बुटवल । ६.५ बिघा क्षेत्रफलमा फैलिएको र करिब १ अर्ब १५ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (BICC) अपेक्षित रूपमा पूर्ण सञ्चालनमा आउन नसक्दा सञ्चालन घाटासँगै संरचना जिर्ण बन्दै जाने चिन्ता बढेको छ।

युवा अभियन्ता प्रकाश भुसालले केन्द्रलाई तत्काल व्यावसायिक ढंगले सञ्चालनमा ल्याउन नसके राज्यको ठूलो लगानी ‘ह्वाइट एलिफेन्ट’मा परिणत हुने चेतावनी दिएका छन्। उनका अनुसार १ अर्ब १५ करोड रुपैयाँ लगानीमा वार्षिक ८ प्रतिशत ब्याज मात्र हिसाब गर्दा पनि करिब ९ करोड २० लाख रुपैयाँ बराबरको आर्थिक भार सिर्जना हुन्छ। तर केन्द्रबाट अपेक्षित आम्दानी हुन नसक्दा सरकारी लगानीमाथि प्रश्न उठ्न थालेको छ।

भुसालले BICC लाई घाटाबाट नाफामा लैजान ७ बुँदे कार्ययोजना अघि सारेका छन्।

उनका अनुसार केन्द्रको प्रभावकारी व्यवस्थापनका लागि तत्काल योग्य CEO नियुक्त गर्नुपर्छ। साथै, आम्दानीका स्रोत विस्तार गर्न चिल्ड्रेन पार्क, चार्जिङ स्टेशन तथा १५–२० वटा फुड कोर्टको ठेक्का खुलाएर २४ घण्टा सञ्चालनको अनुमति दिनुपर्ने उनको सुझाव छ।

त्यसैगरी, नेपालकै कच्चा पदार्थ र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले कम्तीमा १०० साना तथा मझौला उद्योगलाई सहुलियत दरमा स्टल उपलब्ध गराउनुपर्ने उनले बताएका छन्।

बुटवलको मुख्य व्यापारिक केन्द्र अमरपथ पार्किङ समस्याका कारण व्यापारिक गतिविधि खुम्चिँदै गएको उल्लेख गर्दै उनले BICC लाई वैकल्पिक पार्किङ हबका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्। त्यसका लागि BICC र अमरपथबीच निःशुल्क विद्युतीय बस सेवा नियमित सञ्चालन गर्न र अमरपथ क्षेत्रलाई क्रमशः ‘नो भेहिकल जोन’ घोषणा गर्नुपर्ने प्रस्ताव उनको छ।

यस्तै, सम्मेलन केन्द्रलाई वर्षभरि चलायमान बनाउन प्रदर्शनी, विवाह, उत्सव, कन्सर्ट तथा सांस्कृतिक कार्यक्रमहरूको वार्षिक क्यालेन्डर तयार गरी आर्थिक वर्षको सुरुमै टेन्डर आह्वान र कार्यक्रम तालिका सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिएका छन्।

भुसालको दाबी छ, “व्यावसायिक व्यवस्थापन, निजी क्षेत्रको सहभागिता र नियमित कार्यक्रम सञ्चालन गर्न सके BICC लाई घाटाबाट निकालेर बुटवलको आर्थिक गतिविधिको प्रमुख केन्द्र बनाउन सकिन्छ।”

हाल करोडौंको लगानीमा बनेको BICC अपेक्षित उपयोगमा आउन नसकेको अवस्थामा यसको दिगो सञ्चालन र आर्थिक प्रतिफल सुनिश्चित गर्न सरोकारवालाले अब ठोस निर्णय लिनुपर्ने आवाज बलियो बन्दै गएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %