राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष भन्छन्- रुपन्देही २ का राप्रपामाथी अन्याय हुन्छ, क्षेत्रकाे निर्णयनै आधािकारीक हुन्छ
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र रुपन्देही क्षेत्र नम्बर २ लाई लिएर देखिएको विवाद सार्वजनिक रूपमा चर्किएको छ। पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिपकुमार उदयले क्षेत्रीय कार्य समितिको निर्णयको बचाउ गर्दै जिल्ला अध्यक्षले गरेको कारबाहीलाई ‘अवैधानिक’ बताएका छन्।
प्रदेश अध्यक्ष उदयका अनुसार क्षेत्र नम्बर २ का कार्यकर्ताले वर्षौँदेखि आफ्नै चुनाव चिन्हमा मतदान गर्न नपाएको गुनासो गर्दै आएका छन्। यसपटक पार्टीको उम्मेदवार नउठेको सन्दर्भमा क्षेत्रीय कार्य समितिले मत एकत्रित गर्न र कार्यकर्ता बाहिरिने अवस्था रोक्न निर्णय गरेको उनले बताएका छन्। “यो अधिकार क्षेत्रकै हो, किनकि यहाँ हाम्रो उम्मेदवार छैन,” उनको भनाइ छ।
प्रदेश अध्यक्षउदयले पत्रकार सम्मेलन मार्फत जिल्ला अध्यक्षले क्षेत्र नम्बर २ लाई ‘भ्रष्टाचारी’ को संज्ञा दिँदै निकालेको विज्ञप्तिप्रति असहमति जनाएका छन्। उनले बिना प्रमाण आर्थिक चलखेलको आरोप लगाउनु उचित नभएको बताए। “कुनै पनि राजनीतिक सहमतिमा प्रमाणबिना आर्थिक चलखेलको आरोप लगाउनु नियतमाथि नै प्रश्न उठाउने विषय हो,” उनले भने।
प्रदेश अध्यक्षले क्षेत्रीय तहबाट नेपाली कांग्रेस लाई समर्थन गर्ने निर्णयको पृष्ठभूमि पनि स्पष्ट पारेका छन्। उनका अनुसार नेपाली कांग्रेसभित्र ‘हिन्दु राष्ट्र’ र ‘राजसंस्था’ जस्ता मुद्दामा बहस सुरु भएको छ। उनले गणतन्त्रवादी दलहरूमध्ये हिन्दु राष्ट्रको मुद्दा सबल रूपमा उठेको दल नेपाली कांग्रेस नै भएको दाबी गरे।
यस सन्दर्भमा उनले गगन थापा नेतृत्वको विशेष महाधिवेशनमा शुक्रराज शर्मा ले राजसंस्थाबारे बहस आवश्यक रहेको धारणा राखेको प्रसंगसमेत उल्लेख गरे।
निलम्बन ‘अवैधानिक’ भएको दाबी
जिल्ला अध्यक्षले गरेको निलम्बन कारबाहीलाई प्रदेश अध्यक्षले पार्टी विधानविपरीत भनेका छन्। उनका अनुसार स्पष्टीकरणको मौका नदिई गरिएको कारबाही वैधानिक नहुने र जिल्लालाई कारबाही गर्ने नभई सिफारिस गर्ने मात्र अधिकार हुने व्यवस्था विधानमा छ।
उम्मेदवारी फिर्ता प्रकरणमा शंका
क्षेत्रबाट ६ जनाको नाम सिफारिस हुँदा छैटौँ नम्बरमा रहेकी एक नेताकी छोरीलाई टिकट दिइएको र पछि निर्वाचन आयोगले फिर्ता लिनु नपर्ने भनिसक्दा पनि दबाबमा उम्मेदवारी फिर्ता गराइएको दाबी प्रदेश अध्यक्षको छ। यस घटनाले कार्यकर्तामा शंका उत्पन्न गरेको उनले बताए।
‘नो भोट’ प्रस्तावप्रति असहमति
जिल्ला अध्यक्षले अघि सारेको ‘नो भोट’ को अवधारणालाई प्रदेश अध्यक्षले गलत ठहर गरेका छन्। उनका अनुसार यस्तो अभिव्यक्तिले उम्मेदवार रहेका क्षेत्रमा समेत पार्टीलाई क्षति पुग्न सक्छ।
प्रदेश अध्यक्षले चुनावको मुखमा विवाद चर्काउन नचाहेको भन्दै संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन्। उनले चुनावपछि विस्तृत धारणा सार्वजनिक गर्ने बताएका छन्।

लेखकको सम्वन्धमा