रुपन्देही–२ मा चुन्न पौडेलको घोषणा: स्वास्थ्य–शिक्षा भूमिहीनलाई जग्गा पहिलो एजेन्डा
बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्न प्रसाद पौडेल ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।
उनले सैनामैना नगरपालिका–३ स्थित प्रचारप्रसार सम्पर्क कार्यालयबाट घोषणापत्र सार्वजनिक गर्दै स्वास्थ्य, शिक्षा र आधारभूत सेवा पहुँचलाई पहिलो प्राथमिकतामा राखेको बताए।
घोषणापत्रअनुसार सरकारी विद्यालयलाई स्तरोन्नति गरी कक्षा १२ सम्म अंग्रेजी र नेपाली माध्यमबाट निःशुल्क शिक्षा उपलब्ध गराइनेछ। ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिने तथा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच लाख रुपैयाँसम्मको उपचार सरकारी, संस्थागत र निजी अस्पतालमा उपलब्ध गराउने योजना उनले अघि सारे। क्षेत्रका सरकारी अस्पतालहरूको स्तर वृद्धि गरी उपचार अभावमा कसैले ज्यान गुमाउन नपर्ने अवस्था बनाउने प्रतिबद्धता पनि उनले जनाए।
भूमिहीन तथा सुकुम्बासी समस्या समाधानलाई पनि उनले प्रमुख कार्यक्रमका रूपमा उल्लेख गरे। अव्यवस्थित बसोबास व्यवस्थापन गर्दै दुई वर्षभित्र भूमिहीन नागरिकलाई जग्गा व्यवस्थापन गरिने, बस्तीबीचको हाईटेन्सन लाइन हटाउने र शुद्ध खानेपानीको व्यवस्था मिलाइने उनले बताए। साथै पूर्व–पश्चिम राजमार्ग विस्तारबाट उत्पन्न डुबान समस्या समाधान गरिने उल्लेख छ।
बुटवल बजार क्षेत्रमा सुरक्षित पार्किङ व्यवस्था र राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ। कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउँदै किसानलाई मल–बिउ सहज उपलब्ध गराउने तथा तिलोत्तमा र सैनामैनामा सिंचाइ सुविधा विस्तार गर्ने उनले बताए। बेरोजगार युवालाई लक्षित गरी उद्योग स्थापना, ‘एक घर एक रोजगार’ कार्यक्रम सञ्चालन र डिजिटल सीप तालिम सञ्चालन गरिने योजना पनि उनले सार्वजनिक गरे। प्रत्येक चोकमा निःशुल्क वाइफाइ, सिसी क्यामेरा र आवश्यक स्थानमा चार्जिङ स्टेशन जडान गरिने प्रतिबद्धता जनाइएको छ।
वातावरण संरक्षणअन्तर्गत छाडा चौपाया व्यवस्थापनका लागि गोशाला तथा चिडियाघर निर्माण गर्ने तथा तिनाउ नदी र दानव नदी किनारलाई व्यवस्थित करिडोरका रूपमा विकास गरिने उनले बताए। योगिकुटी पुल क्षेत्रमा फोहोर नियन्त्रणका लागि हाइड्रोलिक जाली राख्ने योजना पनि समावेश गरिएको छ।
सामाजिक सुरक्षातर्फ पेन्सनमा निस्किएका राष्ट्रसेवक कर्मचारी र परिवारलाई वृद्धभत्ता उपलब्ध गराउन पहल गर्ने तथा उद्योग–व्यवसायमा लगानी वृद्धि र दोहोरो कर प्रणाली हटाउन कानुनी व्यवस्था सुदृढ गर्ने उनले बताए। निर्वाचित भए प्रतिनिधि सभा सदस्यका रूपमा प्राप्त हुने सेवा–सुविधाको सम्पूर्ण रकम क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा खर्च गर्ने घोषणा उनले गरेका छन्।
आदरणीय मतदाता आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरु
यही फागुन २१ गते सम्पन्न हुन गइरहेको आम निर्वाचन हामी नेपालीहरुको लागि आफ्नो भाग्य आफैं कोर्ने पर्वका रुपमा हाम्रो घर आँगनमा प्रवेश गरिसकेको कुरा सर्व विदितै छ । यस महान कार्यमा सार्वभौम सत्ता सम्पन्न नागरिकले जाहेर गर्ने अभिमत हाम्रो सन्ततिको उज्ज्वल भविष्यका लागि मार्गदर्शक र उपलब्धिपूर्ण बन्नु पर्दछ । लामो समयदेखि जनताको प्रजातान्त्रिक मूल्य मान्यता, आदर्श र सुखद जीवन यापनको बाटो कोर्ने ऐतिहासिक पार्टी नेपाली कांग्रेस यहाँको न्यायो माया र सहयोगको छत्रछायाँमा प्रल्लवित र धनीमूत हुँदै जाँदा केही कमी, केही गल्ती र केही हेलचेक्र्याई भएकोमा क्षमा याचना गर्दछु ।
गत भाद्र २३ र २४ गते सहादत प्राप्त गर्ने हाम्रा भोलीका कर्णधार भाइबहिनी एवं छोरा छोरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा संवेदना प्रकट गर्दछु । नेपाली कांग्रेस पार्टी र यस पार्टीको उम्मेदवारका हैसियतमा अन्य कसैका प्रति नकारात्मक टीका टिप्पणी वा प्रतिक्रिया जनाउनु भन्दा आफ्ना राम्रा कामका माध्यमबाट जनसेवामा समर्पित हुनु राम्रो भन्ने मलाई लाग्दछ । आफ्ना मतदातासँग गरिएका कबोल पुरा नगर्नु वा वेवास्ता गर्नु मेरो सोच, विचार र संस्कारमा नभएका विषय हुन् त्यसैले यस प्रतिबद्धता पत्र मार्फत उल्लेख गरिएका विषयहरु पुरा गर्न गराउन म भागीरथ प्रयत्न गर्नेछु । एउटा जनताको सेवकका हैसियतमा सदनमा आफ्नो निर्वाचन क्षेत्रका आदरणीय नागरिकहरुको चाहना, चासो र चिन्तालाई सम्बोधन गराउन निरन्तर आवाज उठाउने छु । यसरी गरी ज्ञान विज्ञान प्रविधिको उन्नयन गर्दै नयाँ नयाँ अवसरहरु सृजना गराउनु मेरो विशेष चासो र लगावको विषय हुनेछ । जसबाट हाम्रा नव युवा भाई बहिनीहरुलाई राष्ट्र निर्माणमा जोड्न सकियोस् र हाम्रा पाका उमेरका दाजु भाई दिदी बहिनीहरुलाई यस पुनीत कार्यमा सहभागी गराउन सकियोस् ।
आदरणीय मतदाता महानुभाव ज्यूहरु यहाँहरुको अमूल्य मतबाट विजयी भएको अवस्थामा हाम्रो गौरवशाली संसद भवनमा यहाँको प्रतिनिधिको रुपमा गर्व गर्ने गरी आफ्नो भूमिका निर्वाह गर्दै नियम कानुन ऐन वा विधि निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने छु भन्ने रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. २ मा तपसिल अनुसारका काम गर्ने गराउने कुरामा आफ्नो अटल प्रतिबद्धता जाहेर गर्दछु ।
प्रतिबद्धता
१. सरकारी विद्यालयको स्तरोन्नत गरी सम्पूर्ण नेपालिका छोराछोरीलाई अंग्रेजी र नेपाली भाषामा कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने वातावरण बनाउने प्रतिबद्ध रहने छु ।
२. ७० वर्ष कटेका ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य जाँच निःशुल्क गराउने छु ।
३. अव्यवस्थित तथा सुकुम्बासी जग्गा व्यवस्थापन गरी आगामी २ वर्षमा यस क्षेत्रमा रहेका सम्पूर्ण भूमिहिनहरुलाई जग्गा प्रदान गरिने छ ।
४. रुपन्देही जिल्ला क्षेत्र नं. २ भित्र रहेका सबै सरकारी अस्पतालहरुको स्तर वृद्धि गराउदै स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत रु. ५०००००÷– (अक्षरूपी पाँच लाख) सम्मको स्वास्थ्य उपचार सरकारी, संस्थागत र निजि अस्पतालमा निःशुल्क उपचार हुने व्यवस्था गर्नुका साथै स्वास्थ्य, शिक्षा, रोजगार, एवं कृषिलाई उत्पादन मुलक बनाइने छ । साथै क्षेत्र नं. २ का स्थायी बासिन्दालाई उपचारको अभावमा मर्न दिइने छैन ।
५. बस्तीको विच भागबाट नै रहेको हाईटेन्सन लाइन हटाउन पहल गर्ने छु ।
६. क्षेत्र नं. २ का सम्पूर्ण जनतालाई शुद्ध पिउने पानीको व्यवस्था गरिने छ ।
७. कृषिमा सरलीकरण गरी कृषकलाई मल बिउ निःशुल्क उपलब्ध गराउन पहल गर्ने छु ।
८. पूर्व पश्चिम राजमार्ग निर्माणका कारण उत्पन्न डुबान समस्या समाधानका लागि पहल गर्ने छु ।
९. नेपालबाट पेन्सनमा निस्किएका राष्ट्र सेवक कर्मचारी र तिनका परिवारलाई पनि बृद्ध भत्ताको उपलब्ध गराउन पहल गर्ने छु ।
१०. क्षेत्र नं. २ मा राष्ट्रिय स्तरको खेल मैदान बनाउने पहल गर्ने छु ।
११. आवश्यकताअनुसार फ्री वाइफाइसमेत चार्जिङ स्टेशनको स्थापना गराइने छ ।
१२. युवाहरुलाई डिजिटल प्रविधिमा प्रवेश गराई रोजगारयुक्त गराउन पहल गर्ने छु ।
१३. क्षेत्र नं. २ को प्रत्येक चौक चौकमा डिजिटल फ्री वाइफाइ र सिसि क्यामेरा जडान गराउन पहल गर्ने छु ।
१४. राष्ट्रको आर्थिक उन्नति र प्रगतिका लागि उद्योग व्यापार र व्यवसायिक क्षेत्रमा लगानी बढाउन एवं व्यवसाय गर्ने विश्वसनीय कानुनी प्रवन्ध सहित दोहोरो कर प्रणाली हटाउन शशक्त पहल गर्ने छु ।
१५. सडकमा रहेका छाडा चौपायाको कारणबाट दिनहुँ भैरहेका दुर्घटना कम गर्न र पशुपंक्षीको जिवन रक्षा गर्नका लागि गोशाला एवं चिडिया घर निर्माण गर्नुका साथै कृषिका लागि मल र औषधी उत्पादन गरिने छ ।
१६. बुटवल तर्फबाट बगी आउने फोहोरले तिलोत्तमा क्षेत्रको उत्पादन र सौन्दर्यमा हास आएको हुँदा योगिकुटी पुलको मुखमा हाइड्रोलिक जाली राखी यस क्षेत्रको सौन्दर्यलाई बढाउने काम गरिने छ ।
१७. तिलोत्तमा तथा सैनामैना भित्र प्रशस्त कृषि योग्य जमिन रहेकोले उक्त जग्गामा सिचाई व्यवस्था गरी खेती उब्जनीमा बढवा दिई कृषकको जीवन स्तर उकास्ने कदम चालिने छ ।
१८. हाम्रा बेरोजगार युवा युवतीहरुलाई लक्षित गरी यस क्षेत्रमा उद्योगहरु खोलिने छन् र १ घर १ रोजगारको व्यवस्था गर्न उद्योगपतिहरुलाई प्रोत्साहित गरिने छ ।
१९. बुटवल बजार भित्र अव्यवस्थित रुपमा रहेको सवारी साधनलाई व्यवस्थित र सुरक्षित पार्किङ व्यवस्था मिलाइने छ ।
२०. निर्वाचन क्षेत्र नं. २ मा वरदान र समस्याको रुपमा रहेका तिनाउ तथा दानव नदी किनारलाई व्यवस्थित गर्दै, सुन्दर, स्वच्छ, सफा, हराभरा युक्त जलप्रवाह हुने गरी करिडोर निर्माण गर्ने कार्यलाई अगाडि बढाइने छ ।
२१. स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय र पहल गरी नागरिकका समस्याहरु समाधान गरिने छ ।
२२. प्रतिनिधि सभा सदस्य भए वापत प्राप्त हुने सेवा सुविधाको सम्पूर्ण रकम यस क्षेत्रका जनताको स्वास्थ्य उपचारमा खर्च गर्ने छु ।
अन्तमा, आर्थिक वृद्धि, तिव्र विकास, रोजगारी र सामाजिक सुरक्षा प्रत्याभूतिको लागि यही २०८२ फाल्गुण २१ गते सम्पन्न हुने निर्वाचनमा रुपन्देही जिल्ला

लेखकको सम्वन्धमा