तिलोत्तमा माविमा लागू औषध सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न
बुटवल । लागू औषध दुरुपयोग बढ्दो चिन्ताको विषय बन्दै गएको सन्दर्भमा बुटवल उपमहानगरपालिका–६ मा लागू औषध सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ।
बुटवल–६ स्थित तिलोत्तमा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायलाई लक्षित गरी लागू औषधका दुष्परिणाम, रोकथाम र उपचारका उपायबारे जानकारी गराइएको हो।
बुद्ध युवा क्लब तथा लागू औषध उपचार केन्द्र तिलोत्तमा–८, रुपन्देहीको आयोजनामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ६ को कार्यालयले सहकार्य गरेको थियो।कक्षा ७ र ९ का विद्यार्थीहरुलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै बुटवल वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपानेले लागू औषधले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे सचेत गराउँदै समयमै सचेतना अपनाउनुपर्नेमा जोड दिएका थिए। उनले युवा उमेरमा लाग्दा गलत संगतले लागुऔषधको कुलतमा फस्दै गएको बताए।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समिती अध्यक्ष तारा ज्ञवालीले विशेषगरी किशोर–किशोरी तथा युवापुस्तालाई लक्षित गरी लागू औषधको लतबाट जोगिनु नै सबैभन्दा प्रभावकारी उपाय रहेको सुनाए ।
लागू औषधको कुलत लागेमा लुकाउनुभन्दा उपचार केन्द्रमा पुगेर सहयोग लिनु आवश्यक रहेको क्लवका अध्यक्ष बिक्रम खत्रीले बताए।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद रेग्मी , समाजसेवी सुजन पुन लगायतले सचेतनामूलक कार्यक्रमले समुदायस्तरमै लागू औषध विरुद्ध जनचेतना फैलाउन मद्दत पुग्ने विश्वास लिइएको बताए।
आगामी दिनमा पनि विद्यालय र समुदाय केन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिइने कार्यक्रम सञ्चालक राजेश स्याङ्जालीले जानकारी दिए।
सो अवसरमा यम थापा, मीन सेन लगायतले आफ्नो लागुऔषध दुर्ब्यसनीको अनुभव सुनाउदै यसमा नलाग्न आग्रह गरे।
२०७५ सालमा स्थापना भएको यस सस्थाले युवालाई लागूऔषध दुर्ब्यसनी बिरुद्ध काम गर्दै युवाहरुलाई सुधार गर्दै आएको छ।
२०२० सालमा स्थापना भएको यस विद्यालय प्ले ग्रुप देखि कक्षा १० सम्म अध्ययन हुँदै आएको विद्यालयमा ५०० बढी विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन।

लेखकको सम्वन्धमा