एनपीएल–२ : चितवनका रविले बनाए लगातार दोस्रो खेलमा अर्धशतक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पाँचौँ खेलमा ब्याटिङ गरिरहेको चितवन राइनोजबाट मध्यक्रम ब्याटर रवि बोपाराले अर्धशतक बनाएका छन् । प्रतियोगितामा दोस्रो खेल खेलिरहेको चितवनबाट बोपाराको यो लगातार दोस्रो अर्धशतक हो ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस हारेर ब्याटिङमा आएको चितवनबाट बोपाराले ४५ बलमा चार चौका र दुई छक्कासहित ५० रन पूरा गरे । एनपीएलमा सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडीसमेत रहेका बोपाराको समग्रमा यो पाँचौँ अर्धशतक हो । यसअघि पहिलो संस्करण पनि चितवनबाटै खेलेका बोपाराले उक्त संस्करणमा तीन अर्धशतक बनाएका थिए ।
जारी खेलको १७ ओभर समाप्त हुँदा चितवनले चार विकेट गुमाएर ११६ रन बनाएको छ ।
प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा लुम्बिनीको भने यो पहिलो खेल हो ।

लेखकको सम्वन्धमा