रुपन्देहीको पर्राेहा परमेश्वर बोलबम धाममा दर्शनार्थीको घुईँचो

रुपन्देहीको पर्राेहा परमेश्वर बोलबम धाममा दर्शनार्थीको घुईँचो
0 0
Read Time:8 Minute, 19 Second

बुटवल । आज साउन महिनाको पहिलो सोमबार रुपन्देहीको पर्राेहा परमेश्वर बोलबम धाममा दर्शनार्थीको घुईँचो लागरिहेको छ । पश्चिम नेपालकै पशुपतिनाथ भनेर चिनिने यो धाम बोलबम धामको रूपमा नेपालमा मात्र नभई भारतमा पनि प्रख्यात छ । यहाँ हरेक वर्ष श्रावणी मेलामा जलार्पणको लागि आउने दर्शनार्थीहरूको ठूलो भिड लाग्ने गरेको छ ।
नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग मानिने पर्रोहा बोलबम धाममा विशेष गरी साउन महिनाभरी सोमबारका दिन पहेंलो बस्त्र धारी दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्दछ ।

अन्य महिनाभन्दा साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै साउन महिनाका सोमबार शिव मन्दिरहरूमा पूजा गर्दै शुद्ध जल र दूध चढाउने तथा दान गर्ने परम्परा पनि छ । यहाँ रहेको शिव ज्योतिर्लिङ्गमा हरेक वर्षको गुरूपूर्णिमादेखि जनैपूर्णिमासम्म जलार्पण गर्ने परम्परा छ । शिव ज्योतिर्लिङ्गमा जलार्पण गरे पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।
यही विश्वासका साथ हरेक वर्ष कपिलवस्तुको रामघाट, लक्ष्मणघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, पाल्पाको राम्दी, मुस्ताङको मुक्तिनाथ, प्यूठानको स्वर्गद्धारी, काठमाडौंको सुन्दरीजल, पशुपतिनाथ लगायत भारतको उत्तर प्रदेश, बिहारका विभिन्न जिल्लासहित हरिद्वार र हरियाणाबाट समेत भक्तजनहरू जलार्पणका लागि यहाँ आउने गर्दछन् ।

यस्तो भन्छन् मेला भर्न जाने

सोमबार पर्रोहा बोलबम धाममा जलार्पणको लागि पुगेका दर्शनार्थीहरूले आफ्नो रितिरिवाज र धर्म संस्कृतिको जगेर्ना गर्नुपर्छ भनेर विगतका वर्षदेखि नै पूजा गर्दै आएको बताउँछन् । कपिलवस्तुको वाणगंगाबाट बोलबम धाममा पुगेकी भगवती पौडेलले बोलबम धाममा रहेको शिवज्योतिर्लिङ्गमा जलार्पण गरे के पाइन्छ भन्ने थाहा नभएपनि मनमा शान्ति मिल्ने भएकोले लक्ष्मणघाटबाट जल लिएर आएको बताइन् । भगवानप्रति आस्था राखी व्रत बस्ने र पूजा गर्ने गर्दा मनमा शान्ति मिल्ने बताइन्।
‘भगवानको दर्शन गर्ने र व्रत बस्दा मनमा सकारात्मक सोंच बढ्छ, सकारात्मक सोंचले स्वभाविक रूपमा मानिसलाई राम्रो गर्छ, भगवानप्रतिको आस्था त छँदैछ,’ उनले भनिन् ।
तिलोत्तमाकी धनमाया भुसालले पनि हरेक वर्ष परिवारसहित बोलबम धाममा पूजा गर्न जाने गरेको बताइन् । श्रीमानसहित सोमबार बोलबम धाम पुगेकी भुसालले साउन महिनामा भगवान शिव स्वर्गबाट धर्तिमा झरेको र शिवालयमा गई पुजा गर्ने र जलार्पण गर्दा शिवको साक्षात दर्शन हुने विश्वास रहेको बताइन्। उनले हरेक वर्ष साउन महिनाको सोमबार व्रत बस्दै आएको बताइन् ।


यसरी भएको छ व्यवस्थापन

पर्रोहा परमेश्वर बोलबम धामका अध्यक्ष चित्र बहादुर कार्कीले पर्रोहा बोलबम धाममा गुरु पुर्णिमादेखि सुरु हुने श्रावणी जलापर्ण यात्रा कार्यक्रम २०८२ सुरु भएको बताउँदै अघिल्लो सोमबारदेखी नै यहाँ भक्तजनहरु आएको जानकारी दिए ।
बोलबम धाम आउने दर्शनार्थीलाई शिवालयको दर्शन गर्न र शिवज्योतिर्लिङ्गमा जलार्पण गर्न सहज होस् भनी बिहान ४ बजेदेखि नै जलार्पणको व्यवस्थापन गरिएको उनले जानकारी दिए ।
उनले गुरूपूर्णिमादेखि जनैपूर्णिमासम्म हरेक दिन धाममा रहेको शिवालय र शिवज्योतिर्लिङ्गमा जलार्पण भइरहने भएपनि सोमबार दर्शनार्थीको घुईचो हुने बताए।

यस्तो छ ईतिहास

मन्दीर व्यवस्थापन समितिका अध्यक्ष रामवली चौधरीका अनुसार करिब डेढ सय वर्षअघि सैनामैनाका स्वर्गीय चन्द्रभान चौधरीका जिजु हजुरबुबाले झाडीभित्र शिवलिङ्ग फेला पारी आफ्नो घरमा लगेर स्थापना गर्न शिवलिङ्गलाई खन्दाखन्दै त्यसको फेद फेला पार्न नसकी त्यहिँ छोडेका थिए । राती चन्द्रभानको सपनामा आई शिवलिङ्गले आफुलाई त्यहाँबाट कोही कसैले अन्यत्र लैजान पाउँदैन भनेपछि शिवलिङ्ग भेटिएको स्थानमै मन्दिर निर्माण गरिएको हो ।
शिवलिङ्ग भेटाउने र मन्दिर निर्माणको सुरूवात समेत चन्द्रभान चौधरीले गरेकोले अहिले पनि स्थानीय थारूहरूले पर्रोहा मन्दिरलाई विषेश महत्व दिएर पूजा आजा गर्दै आएका छन् । पर्रोहा बोलबम धाममा २०३५ सालमा १०८ स्वामी रमेश गिरी भारतको पञ्जागढबाट बोलबमधाम आएपछि यसको संरक्षण र व्यवस्थापन सुरू गरिएको मानिन्छ ।

गिरीले मन्दिर निर्माणका लागि जग्गा उपलब्ध गराएपछि २०४५ सालमा शिव पञ्चायन मन्दिर बनाउन सुरू गरिएको थियो भने २०४८ सालमा मन्दिर निर्माण गरेपछि २०४९ सालदेखि साउन महिनामा बोलबमधाममा जलार्पण गर्न सुरू गरिएको थियो ।
३० वर्षअघि सुरू भएको श्रावणी मेला, बोलबम यात्रा र जलार्पण गर्ने कार्य अहिलेपनि निरन्तर जारी छ। यहाँ खाली खुट्टा पैदल यात्रा मात्र नभई सुतेर शरीरले बाटो नाप्दै विभिन्न तीर्थस्थलदेखि बोलबम धामसम्म पुग्नेहरू पनि भेटिन्छन्। यहाँ रहेका १०८ शिव ज्योतिर्लिङ्गमा विभिन्न स्थानबाट वैदिक विधिले कावँर र कमण्डलुमा लिएर गएको पवित्र गंगाजललाई अर्पण गर्ने परम्परा रहेको छ।
बुटवलबाट १४ किलोमिटर पश्चिम पूर्व–पश्चिम राजमार्गको रानिबगियाबाट दुई किलोमिटर दक्षिणमा रहेको पर्रोहा परमेश्वर बोलबम धाम ३२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ। जहाँ मुख्य मन्दिर, १०८ शिवलिङ्ग, अर्धचन्द्र आकारको धाम सरोवार, धाम सरोवरमा साढे ५ फुट अग्लो शिवजीको मूर्ति राखिएको छ भने गणेश, हनुमान, सन्तोषीमाता, पार्वती, लक्ष्मीनारायण र राधाकृष्ण मन्दिर निर्माण गरिएको छन् ।

मुक्तिनाथ र पशुपतिनाथ पछि सबैभन्दा ठूलो धामको रूपमा पर्रोहा बोलबम धामलाई विकास गर्ने र वार्षिक १२ लाख पर्यटक भित्राउने योजना रहेको धामको दावी छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %