बुटवलमा बन्ने राष्ट्रिय सूचना केन्द्रको कामलाई अगाडि बढाउन नगरप्रमुख पाण्डेयको अनुरोध
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सूचना तथा सञ्चार मन्त्री रेखा शर्मालाई भेटेर बुटवलमा निर्माण गर्ने भनिएको राष्ट्रिय सूचना केन्द्रको कामलाई अगाडि बढाउन अनुरोध गर्नुभएको छ।
बुटवल १२ मा निर्माण गर्ने भनिएको राष्ट्रिय सूचना केन्द्रको काम अगाडि बढाउनका लागि बुटवल उपमहानगरपालिकाको तर्फबाट सबै प्रक्रिया पूरा भइसकेको बताउँदै उहाँले आवश्यक सहजीकरणका लागि मन्त्री शर्मालाई अनुरोध गर्नुभयो ।
उहाँले सञ्चार मन्त्रालयबाट स्थानीय सरकारलाई सूचना र सञ्चारका क्षेत्रमा सक्षम बनाउनेगरी कार्यक्रम ल्याउन सुझाव दिनुभयो । उहाँले स्थानीय सरकारले साधन श्रोतको सीमितताका कारण सूचना र सञ्चारका क्षेत्रमा पर्याप्त काम गर्न नसकेको भन्दै संघीय सरकारले स्थानीय सरकारलाई तथ्यांक र अभिलेख राख्नका लागि सहजीकरण गर्नुपर्ने बताउनुभयो ।
उहाँले संघीयताको मर्मअनुसार स्थानीय सरकारका अधिकार कार्यान्वयनमा सकारात्मक भूमिका निर्वाह गर्नका लागि मन्त्री शर्मासँग अनुरोध गर्नुभयो ।
भेटका क्रममा मन्त्री शर्माले बुटवलको सञ्चार केन्द्र निर्माणको काम छिटै नै अगाडि बढ्ने विश्वास दिलाउनुभयो । उहाँले संघीय सरकार र स्थानीय सरकारका बीचमा सहकार्य र समन्वयबाट प्रभावकारी काम हुनसक्ने बताउनुभयो ।
केहीदिनअघि काठमाडौं जानुभएका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यसअघि अर्थ मन्त्रालय र अन्य मन्त्रालयहरुमा पुगेर बुटवलको विकासका लागि आवश्यक बजेट र कार्यक्रमको व्यवस्था गर्नका लागि छलफल र भेटघाट गर्नुभएको छ । यस्तै बुधबार प्रमुख पाण्डेयले अन्य मन्त्रालय र विभागहरुका अधिकारीहरुसँग भेटेर बुटवलको विकासका लागि छलफल गर्ने कार्यक्रम रहेको छ ।

लेखकको सम्वन्धमा