रुपन्देहीमा २२८ जनाले गरे आत्महत्या, अधिकांश २६–३५ वर्ष उमेर समूहका
बुटवल । २०८३ जेठ १ गते बुटवलको नेपालगंज रोडमा रहेको दियो ईन होटलमा एक युवकले छतबाट हाम फालेर आत्महत्या गरे । पोखराका कृष्णहरी जीसी जेठ १ गते बिहान करिब २ बजे होटलको छतबाट हाम फालेर मृत अवस्थामा फेला परेका थिए । उनी आफ्ना चार जना साथीसहित होटलमा बस्न आएका थिए ।
उनी मात्रै होइन एक वर्षमा रुपन्देहीमा २ सय बढिले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०८२/०८३ मा रुपन्देहीमा २२८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीको विवरणअनुसार आत्महत्या गर्नेमध्ये अधिकांशले झुन्डिएर आत्महत्या गर्ने विधि अपनाएका छन् । कुल २२८ घटनामध्ये १९८ जनाले झुन्डिएर, २८ जनाले विषादी सेवन गरेर तथा २ जनाले आगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिए ।
उनका अनुसार झुन्डिएर आत्महत्या गर्ने घटना कुल घटनाको करिब ८६.८४ प्रतिशत रहेको छ, जसले यो विधि अन्य सबैभन्दा बढी प्रयोग भएको देखाउँछ । लिङ्गगत विश्लेषण गर्दा आत्महत्या गर्नेमा पुरुषको संख्या महिलाको तुलनामा उल्लेखनीय रूपमा बढी रहेको छ । प्रहरी अभिलेखअनुसार १३७ पुरुष र ९१ महिलाले आत्महत्या गरेका छन् ।
कुल घटनामध्ये पुरुषको हिस्सा करिब ६०.०९ प्रतिशत र महिलाको ३९.९१ प्रतिशत रहेको छ । यसले मानसिक, सामाजिक तथा आर्थिक दबाबका कारण पुरुषहरू पनि उच्च जोखिममा रहेको संकेत गरेको छ ।
उमेर समूहका आधारमा गरिएको विश्लेषणले आत्महत्याको समस्या विशेषगरी उत्पादनशील उमेर समूहमा बढी केन्द्रित रहेको देखाएको छ । २६ देखि ३५ वर्ष उमेर समूहका ७१ जनाले आत्महत्या गरेका छन्, जुन सबैभन्दा बढी संख्या हो ।
त्यसपछि १९ देखि २५ वर्ष उमेर समूहका ४९ जना, ३६ देखि ४५ वर्षका ४७ जना, ४६ देखि ६० वर्षका ३४ जना, १८ वर्ष मुनिका २१ जना तथा ६० वर्षभन्दा माथिका ६ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकमा उल्लेख छ ।
विशेषगरी १९ देखि ४५ वर्ष उमेर समूहमा आत्महत्याको संख्या अत्यधिक हुनु चिन्ताको विषय बनेको छ । यही उमेर समूह शिक्षा, रोजगारी, वैदेशिक रोजगार, पारिवारिक जिम्मेवारी, आर्थिक दबाब तथा व्यक्तिगत सम्बन्धका चुनौतीसँग प्रत्यक्ष रूपमा जोडिने भएकाले मानसिक तनाव बढ्न सक्ने विज्ञहरूको भनाइ छ ।
आत्महत्याका घटनामा झुन्डिएर आत्महत्या गर्ने संख्या अत्यधिक हुनु पनि अर्को महत्वपूर्ण पक्षका रूपमा देखिएको छ । सहज पहुँच, एकान्त स्थानको उपलब्धता तथा आकस्मिक आवेगका कारण यो विधि बढी अपनाइने गरेको विभिन्न अध्ययनहरूले पनि देखाउँदै आएका छन् ।
मानसिक स्वास्थ्यप्रति समाजमा अझै पनि खुला रूपमा छलफल गर्ने वातावरण पर्याप्त नबनेको, समस्यालाई समयमै पहिचान गर्न नसकिनु, पारिवारिक तथा सामाजिक सहयोगको कमी, आर्थिक तथा व्यक्तिगत तनाव जस्ता कारणहरूले आत्महत्याको जोखिम बढाउन सक्ने भएकाले समयमै परामर्श, सहयोग र संवेदनशील व्यवहार अपरिहार्य रहेको महिला अधिकारकर्मी अधिवक्ता ईन्दिरा आचार्य बताउँछीन् ।
विशेषगरी युवा तथा मध्यम उमेर समूहलाई लक्षित गरी मानसिक स्वास्थ्य सेवा विस्तार, जनचेतना अभिवृद्धि, मनोसामाजिक परामर्श तथा समुदायस्तरमा सहयोगी वातावरण निर्माण गर्न सके यस्ता दुःखद घटनामा कमी ल्याउन सकिने बताईन् ।

लेखकको सम्वन्धमा