लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो

लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो
0 0
Read Time:3 Minute, 48 Second

बुटवल । लुम्बिनी प्रदेशका धेरै भूभागमा यति बेला रोपाइँ सम्पन्न भएको छ ।

असारको सुरुआतसम्म यहाँका अधिकांश खेत पानीको प्रतीक्षामा बाँझै थिए । तर, मनसुन सक्रिय भई निरन्तर वर्षा भएपछि धमाधम रोपाइँ गरिएको हो । साउन १ गतेसम्म लुम्बिनीमा ८०.६४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालय बुटवलले जनाएको छ ।

प्रदेशभर धान रोपाइँ हुने तीन लाख एक हजार ३७२ हेक्टर क्षेत्रफल छ । यसमध्ये दुई लाख ४३ हजार ९५१ हेक्टरमा रोपाइँ सकिएको निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेले जानकारी दिए । असार १५ गतेसम्म प्रदेशभर जम्मा २१ प्रतिशत मात्र धान रोपाइँ भएको अवस्था थियो ।

लुम्बिनीका विशेष गरी कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया, दाङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का फराकिला फाँट धान उत्पादनका निम्ति प्रसिद्ध छन् । तराईसँगै पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम पूर्वका पहाडी जिल्लामा पनि धान खेती गरिँदै आएको छ ।

प्रदेशमा सावित्री, सामा मन्सुली, हर्दिनाथ–६, राधा–४, सुक्खा धान–१ र २, गंगासागर–१ र २, खुमल बासमतीलगायत उन्नत जातका धान खेती गरिन्छ ।

यसपालि रोल्पा पहिलो जिल्ला बनेको छ, जहाँ शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ९७.५, पाल्पामा ८५, अर्घाखाँचीमा ८०, दाङमा ७७, गुल्मीमा ७६, कपिलवस्तुमा ६०.५, बाँकेमा ६०, प्युठान र रुकुम पूर्वमा ५६/५६ तथा रुपन्देही र बर्दियामा ५५/५५ प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।

प्रदेशकै सबैभन्दा बढी धान उत्पादन हुने कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)लगायत क्षेत्रका अझै केही खेतमा रोपाइँ बाँकी रहेकाले किसान खेतमै व्यस्त देखिन्छन् ।

मौसम अनुकूल रहे बाँकी क्षेत्रफलमा पनि केही दिनभित्रै रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको निर्देशनालयका निमित्त निर्देशक रामप्रसाद पाण्डेले बाह्रखरीसँग बताए ।

लुम्बिनीमा आर्थिक वर्ष २०८१/८२ मा धान उत्पादन १३ लाख ५० हजार ८८० मेट्रिक टन पुगेको उनले जानकारी दिए । प्रदेशभर धान खेतीको औसत उत्पादकत्व प्रतिहेक्टर ४.५२ टन रहेको उनले बताए ।

बाँकेमा ३३ हजार ८७० हेक्टरमा धान खेती गर्ने गरिएको छ । नवलपरासी पश्चिममा २० हजार ८८७, रुपन्देहीमा ६३ हजार ५५०, दाङमा ३६ हजार २००, कपिलवस्तुमा ६६ हजार २२५, बर्दियामा ५० हजार १५०, गुल्मीमा ६ हजार ५४१, प्युठानमा ६ हजार हेक्टरमा क्षेत्रफलमा धान रोपाइँ गर्ने गरिएको निर्देशनालयले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %