बुटवल–नारायणगढ सडक: दाउन्ने खण्ड बन्यो धराप

बुटवल–नारायणगढ सडक: दाउन्ने खण्ड बन्यो धराप
0 0
Read Time:3 Minute, 39 Second

परासी । बुटवल–नारायणगढ खण्ड बिस्तारले तिव्रता पाए पनि सास्तीमा कुनै कमी आएको छैन । यस खण्ड अन्तर्गत दाउन्ने पहाड अहिले ठूलो समस्या बनेको छ । यसमार्ग अन्तर्गत दाउन्ने खण्डमा धुलो र जामका कारण यात्रुले सास्ती भोग्नुपरेको छ ।

गर्मी मौसम सुरु भएसँगै सडक धुलाम्मे भएर अगाडिको सवारी नदेखिने अवस्था रहेको चालकहरू बताउँछन् । पहाड काट्नुका साथै कल्भर्ट तथा पुल निर्माण भइरहेकाले हरेक दिन यस खण्डमा सवारी जाम हुने गरेको छ । बुधबार पश्चिम नवलपरासीको भूमहीबाट कावासोतीका लागि हिँडेका कावासोती–३ का रविन्द्र घिमिरे दाउन्नेमा १ घण्टा जाममा परे ।

एकतर्फी सञ्चालन भएको सडकमा धुलोले गर्दा सवारीभित्र बस्न पनि असहज भएको उनले गुनासो गरे । साँघुरो सडकमा सवारीले अनावश्यक रूपमा ओभरटेक गर्दा सवारी आवागमन थप अव्यवस्थित बनेको थियो ।

‘डोजरले पहाड काट्दा सवारी जाम भइरहेको छ । त्यहीमाथि धुलो र खाडलले गर्दा यात्रा गरिनसक्नु छ,’ उनले भने, ‘धुलोले अगाडिको सवारी नदेखिने अवस्थामा पनि सडकमा पानी हालिएको छैन । पैदल र मोटरसाइकल यात्री हिँड्नै नसक्ने अवस्था छ ।’

सडक विस्तारमा ढिलाइ हुँदा बुटवल–नारायणगढ सडक खण्डमा यात्रुले सास्ती खेप्नुपरेको हो । ६ वर्षदेखि यस खण्ड भएर हिँडडुल गर्ने यात्रुले यस्तै सास्ती खेपिरहेका छन् । स्थानीयले सडक बन्द गरेर आन्दोलन गरेको स्थानमा मात्र नियमित पानी हाल्ने, मर्मत गर्ने गरे पनि दाउन्ने खण्डमा भने धुलो र खाडलले सवारी सञ्चालनमा निकै असहज छ । यो समस्या ६ वर्षदेखि हुँदै आएको भए पनि ठेकदार र सरकारी पक्ष कसैको पनि ध्यान नजाँदा समस्या बढ्दो छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनक बन्जराका अनुसार सडक विस्तारको काम भइरहेकाले दाउन्नेमा ट्राफिक व्यवस्थापनमा केही समस्या भएको बताए । ट्राफिक व्यवस्थापनका लागि दाउन्ने खण्डमा ट्राफिक प्रहरी परिचालन गरिएको उनको भनाइ छ । दाउन्ने खण्डको करिब १५ किलोमिटर दूरी पार गर्न २ घण्टाभन्दा भन्दा बढी समय लाग्ने गरेको छ । यो खण्डमा हुने जाम र धुलोको कारण निजी सवारी हुनेले बुटवलबाट पाल्पा हुँदै कालिगण्डकी करिडोर खण्डमा यात्रा गर्ने गर्छन् ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा ४७ किलोमिटर एकतर्फी कालोपत्रको काम भएको छ भने दाउन्ने खण्डमा पहाड काट्ने र भित्तामा पर्खाल लगाउने काम जारी छ । सडक निमार्ण सुरु भएको ६ वर्षमा प्रगति भने ५८ प्रतिशत छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %