जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व
0 0
Read Time:10 Minute, 26 Second

धर्मेन्द्र झा
काठमाडौँ । ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्रण गर्छन् र बिहीबार सूर्यलाई सन्ध्याकालीन र शुक्रबार प्रातःकालीन अघ्र्यपछि पारन हुन्छ । यसपछि मात्र व्रतालुले व्रत विसर्जन गरेसँगै छठको पनि औपचारिक समापन हुन्छ । यस पटक मात्र होइन, छठ पर्वका क्रममा प्रत्येक वर्ष प्रत्येक पटक अपनाइने प्रक्रिया यही हो । यस अर्थमा भन्ने हो भने यो पर्व चारदिने हो, जो चार दिनसम्मै बडो उत्साह र उमङ्गले मनाइने गरिन्छ ।

Shine Resunga Bank
ISMT COLLEGE
Dream International
पछिल्लो दिनमा छठ राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख छ । वर्तमानमा यो महापर्व जहाँकहीँ पनि विश्वमा मैथिली र भोजपुरी भाषी छन्, त्यहाँ मनाइने गरिएको छ । मूलतः सूर्योपासनासँग सम्बन्धित यो पर्व प्रकृति पूजनसँग सम्बद्ध छ । यस पर्वका माध्यमबाट प्रकृति जो जीवनदायिनी हो, जीवन सञ्चालक हो, प्रति आभार व्यक्त गर्ने गरिन्छभन्दा अस्वाभाविक हुँदैन । यति मात्र होइन सूर्य, जसलाई प्रत्यक्ष जाग्रत देवताका रुपमा स्वीकार गरिन्छ, उनको अनुपस्थितिमा यस जगत्को सञ्चालन सम्भव छैन, का प्रति पनि मानवले अनुग्रह भाव प्रदर्शित गर्दै आभार व्यक्त गर्ने पर्व हो छठ ।

Hi Life
सूर्यको उपासना त विश्वका धेरै देश र धेरै संस्कृतिमा हुने गरेको पाइन्छ तर सूर्य पत्नी उषा र सन्ध्या अर्थात् अस्ताउँदो र उदाउँदो दुवै सूर्यको उपासना हुने सांस्कृतिक पर्व सम्भवतः छठ मात्र हो । यस्तोमा सुन्दर भविष्यको अपेक्षासहित उदाउँदो शक्तिको उपासना मात्र होइन, बरु विगतको शक्ति जसका कारणले यो सृष्टि र सभ्यता अस्तित्वमा छ, आजको अवस्थासम्म आइपुगेको छ । तिनका प्रति अर्थात् अस्ताउँदो शक्तिका प्रति अर्थात विगतका पुर्खाप्रति पनि आदर सत्कारको भाव प्रकट गर्ने पर्व हो यो । यो पर्वको केन्द्रीय पूजनीय तत्व नै सूर्य हुन् । सूर्यलाई शक्ति मानिन्छ । यस आधारमा यो पर्व शक्ति पर्व पनि हो । सूर्य ऊर्जा केन्द्र हो । यसै ऊर्जाले प्रकृति—सृष्टि सञ्चालित छ । ऊर्जाको अनुपस्थितिमा जीवन सञ्चालन हुनै सक्दैन । यस आधारमा सूर्यप्रति अनुग्रहित हुने पर्वका रुपमा पनि छठ पर्वको महत्व छ ।

मिहीन ढङ्गले विश्लेषण गर्ने हो भने यो पर्व वैज्ञानिक मान्यतामा आधारित छ । यो पर्व मनाउने प्रक्रिया र अवलम्बन गरिने विधिहरु विज्ञानसम्मत देखिन्छन् । आध्यात्म यस्तो पक्ष हो जोसँग पराशक्तिप्रतिको सम्मान, समर्पण र आस्था जोडिएको हुन्छ । श्रद्धा तथा विश्वासका नाममा यदाकदा भय र त्रासले स्थापित मान्यताहरु अनुशरण गर्न बाध्य बनाइरहेका हुन्छन् । छठ पर्वको विश्लेषण गर्ने हो भने आध्यात्मभित्र लपेटिएका केही त्यस्तै भय र त्राश छन्, जसले विज्ञान आधारित स्थापित मान्यताहरु अनुशरण गर्न समाजलाई बाध्य बनाएको छ अथवा भनौँ प्रेरित गरेको छ । त्यस्तै एउटा विज्ञान आधारित सन्दर्भ हो अस्ताउँदो र उदाउँदो सूर्यको उपासना । विज्ञानले प्रमाणित गरिसकेको छ, सूर्य उदाउने र अस्ताउने समयमा प्रसारित हुने किरण जीवनका लागि अत्यन्तै उपयोगी छन् । यी किरणको अभावमा जीवन सभ्यताको निरन्तरता सम्भव छैन ।

छठ पर्वलाई यस्ता अनेक वैज्ञानिक अवधारणासँग जोड्न सकिन्छ । अर्को पक्ष हो जल संरक्षण र स्वच्छता । अहिलेको विश्व जलवायु परिवर्तनका कारण सिर्जना भएका र हुने सम्भावना रहेका असरबाट आक्रान्त छ । जलवायु परिवर्तनको न्यूनीकरणको अनेक उपाय खोजिरहेको छ, वर्तमान विश्व । यसबारे विश्वलाई सचेत बनाउने उद्देश्यले ठूलो जनधनको लगानीमा बर्सेनि विश्व सम्मेलन हुने गरेका छन् । यस वर्ष पनि छठको लगत्तै अजरवैजानको बाकुमा यस्तै सम्मेलनको आयोजना हुन गइरहेको छ ।

छठका प्रवर्तकहरुले भने मानव समाज र सभ्यता जोगाउन हजारौँ वर्ष पहिले ९छठ पर्व मनाउने कुरा कहिलेदेखि अस्तित्वमा आएको हो ? यकिन छैन० जलवायु परिवर्तनको सम्भाव्य अवस्था र त्यसको असरबारे सचेतना देखाए । जल र जलाधारको संरक्षण गर्नुपर्ने र प्रकृति जोगाउनुपर्ने वैज्ञानिक आवश्यकताबारे हाम्रा पूर्वजले त्यतिखेरै चिन्ता र चासो व्यक्त गरे । त्यस्तै आध्यात्मिक आस्था तथा विश्वासलाई यसका लागि माध्यमका रुपमा प्रयोग गरे ।

यो पर्व कहिलेदेखि मनाउन सुरु गरियो त्यसको यकिन गर्न सकिएको छैन । यो पर्वको उपासना विधिको विश्लेषण गर्दै गएका खण्डमा यो पर्व मूलतः प्रकृति पूजनसँग सम्बन्धित रहेको पाउन सकिन्छ । यो पर्व जलाशय, नदी, पोखरी, ताल तलैया लगायतका जलस्रोत क्षेत्रमा उपस्थित भई सूर्यको उपासना गरी मनाइन्छ । पर्व मनाउने क्रममा जलस्रोत र सम्बन्धित क्षेत्रको शुद्धता र सफाइमा विशेष ध्यान दिइन्छ । यो शुद्धता र सफाइको कार्यले जल जीवनदायिनी हो र यसको संरक्षण र शुद्धता सृष्टिको कल्याणका लागि अपरिहार्य छ भन्ने सन्देश दिन्छ ।

यस पर्वमा चढाइने वस्तुहरु पनि प्रकृतिमै आधारित छन् । जस्तै उखु, बोट समेतको बेसार र त्यसबेला उपलब्ध अन्य कृषि—खाद्य सामग्री । यसले पनि प्रकृतिको सम्मान गर्नुपर्ने पाठ नै सिकाउँछ । मूलतः नेपालको मध्य तथा पूर्वी तराई—मधेशमा हर्षोल्लास र बडो श्रद्धापूर्वक मनाइने महापर्व छठ उदाउँदो र अस्ताउँदो सूर्यको उपासना गरी मनाइने गरिन्छ । यो पर्वमा अस्ताउँदो सूर्यले विगतको स्मरण गर्दै आत्ममूल्याङ्कन गर्न र उदाउँदो सूर्यले सुन्दर र स्वस्थ्य भविष्यको निर्माणमा जुट्न अभिप्रेरित गर्ने विश्वास गरिन्छ । यो पर्वलाई स्वास्थ्य, निरोगिता र सन्तानप्राप्ति र कल्याण तथा परिवारको उन्नति र रक्षाको पर्वमा श्रद्धापूर्वक मनाइन्छ । सारमा वैज्ञानिक दृष्टिले यस पर्वको महत्वलाई यसरी पनि उल्लेख गर्न सकिन्छ ।

– यसले पवित्रता, स्वच्छता र सफाइको महत्वमा जोड दिएको छ, यी स्वास्थ्य र निरोगिताका लागि अनिवार्य छन् ।

– यस पर्वले पर्यावरणको सन्तुलन र संरक्षणको सन्देश पनि दिएको छ, जो प्राणीजगत्का लागि आवश्यक छ । प्रकृतिप्रति आदर भावको उद्देश्य पर्यावरणको संरक्षणका सन्दर्भमा जनचेतना जागृत गर्नु हो ।

– प्रकृति सबैको हो । यो सामूहिक सम्पदा हो । यसको उपयोग सबैले गर्न पाउनुपर्छ र कुनै पनि आधारमा कसैलाई पनि प्रकृतिको सदुपयोगबाट वञ्चित गरिनु हुँदैन भन्ने सन्देश पनि यस पर्वको हो ।

– जल, जीवन हो भन्ने महत्वपूर्ण सन्देश यस पर्वले दिएको छ ।

– बिहान र बेलुकाको सूर्यको किरण मानव स्वास्थ्यका लागि उपयुक्त हुन्छ भन्ने सन्देश पनि यस पर्वमा निहित छ ।

सूर्य र प्रकृतिले जसरी कसैप्रति भेदभाव गर्दैन । त्यसरी नै छठ पर्वले पनि कसैलाई भेदभाव गर्दैन । पूजा र उपासनामा कसैलाई निषेध गर्दैन । छठ घाटमा मधेशी मात्र उपस्थित हुँदैनन् । हिन्दू मात्र पनि उपस्थित हुँदैनन् । सम्पन्न, धनी र हुनेखाने मात्र सहभागी हुँदैनन् । जातपातका आधारमा छुवाछूत देखिँदैन । छठ पर्वप्रतिको आस्थामा कसैमा विभेद्को अनुभूति हुँदैन । सबैले आत्मसम्मान र प्रतिष्ठासहित जीवनयापन गर्न सकून्, छठ पर्वको सन्देश विश्लेषण गर्ने हो भने पनि सारमा यही कुरा बुझ्न सकिन्छ—सर्वजन हिताय सर्वजन सुखाय ।-(लेखक राससका कार्यकारी अध्यक्ष हुन् ।)

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %