चर्चाका समाचारहरु

शारीरिक रुपमा स्वस्थ्य रहन मुख स्वास्थ्यको महत्व

शारीरिक रुपमा स्वस्थ्य रहन मुख स्वास्थ्यको महत्व
2 0
Read Time:24 Minute, 48 Second

स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु हो । मुखलाई स्वास्थ्यको दर्पण नै मानिन्छ । मानिसको मुखको स्वास्थलाई उसको व्यक्तित्वसँग जोडेर हेरिन्छ । मधुमेह, हृदयरोग झैं कार्डियो भास्कुलर रोगहरु अनि श्वासप्रश्वासका रोगहरु मुखको स्वास्थ्यसंग सम्बन्ध राख्ने रोगहरू हुन् । नियमित दन्त परीक्षण, दाँतको राम्रो सुरक्षा र स्वस्थ्य खानेकुराहरु मुखको ख्याल राख्नका लागि जरुरी बिषयहरु हुन् ।
बढ्दो फास्ट फुड, चिसो तातो खाने चलनले बालबालिका्हरु झनै मुखको स्वास्थ्यको जोखिममा रहन्छन् । पहिला पहिला अर्गानिक खानपिन हुदा मुख सम्बन्धि कम रोग लाग्ने गर्दथ्यो । भुटेका मकै, भटमास, चना, स्याउ, बेलैति इत्यादि चपाएर खाने गरिन्थ्यो । तर आजकाल काटेर साना टुक्राबनाएर खाने, मकै भटमासका स्थानमा चाउचाउ, मम, विस्कुट जस्ता जंकफुड खाने चलन बढ्दै गएको छ । त्यसैगरी मासु तथा मसालेदार भोजनको सेवनले जिब्रोलाई जति आनन्दित तुल्याउँछ, त्यति नै मुख स्वास्थ्यका लागि चुनौती सिर्जना गर्छ । मासुको अत्यधिक सेवनले गिजामा मासुका त्यान्द्रा अड्किने, हड्डीले दाँत भाँचिने तथा कुँड्किने, दाँत दुख्ने तथा खानामा लशून–प्याजको अत्यधिक सेवनले मुख गन्हाउने जस्ता समस्या देखापर्छन् । मुखमा ब्याक्टेरियाको मात्रा अत्यधिक भई टन्सिलाइटिस तथा फ्यारेन्जाइटिस हुने प्रवल संभावना हुन्छ ।
मुखलाई स्वस्थ्य राख्न सानै उमेर देखि दिनहुँ सफा गर्ने, पखाल्ने, प्रभावकारी तरिकाले ब्रश र पेस्ट लगाउने गर्नाले दाँतको समस्या धेरै हदसम्म समाधान हुन्छ । ब्रश गर्दा धेरै घोटेर गर्नु राम्रो हुन्छ भन्ने सोच गलत हो, उपयुक्त तवरले तलमाथि गर्दै ब्रश गर्नु जरुरी हुन्छ । हाम्रो शरीरको प्रवेशद्वार मुख हो । शरीर सञ्चालनको लागि चाहिने शक्ति खानाबाट प्राप्त हुन्छ । खाना मुख हुँदै दाँतले चपाएपछि शरीरभित्र पस्छ । खाना खान मात्र होइन, मुहारको चमक बढाउन, बोलीको शैली विकास गर्न पनि मुखको अहम् भूमिका हुन्छ । तर त्यही मुखको बनावटमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने दाँत तथा मुखको स्वास्थ्य बारे खासै ख्याल नै गर्दैनौं । मानव जीवनमा दुई सेट दाँत आउँछन् । बाल्यकालका दाँतलाई हामी दुधे दाँत भन्छौं । ६ महीनादेखि २१ वर्षभित्रमा मुखमा ३२ वटा दात हुन्छन् । दुधे दाँत फेरिएर स्थायी दाँत आउने भएकोले कतिपयमा स्थायी दाँत फेरिएर अर्को दाँत आउने भ्रम पनि रहेको पाइन्छ ।
बिहान बेलुका फ्लोराइडयुक्त दन्तमञ्जनले दाँत माझ्नाले मुखका धेरै समस्या निराकरण हुन्छन् । दाँतका लागि फ्लोराइड अति आवश्यक खनिज हो । दाँतको बाहिरी भागमा रहेको इनामेलसँग दाँत विकासको क्रममा फ्लोराइड मिसिंदा फ्लोरहाइड्रो अक्सिएपटाइट क्रिस्टल बन्छ, जसले दाँतलाई कीराले खानबाट जोगाउँछ । फ्लोराइडले कीटाणुलाई मार्नुका साथै वृद्धि प्रक्रिया रोक्न मद्दत गर्छ । फ्लोराइड सार्वजनिक स्वास्थ्य औजार हो । पश्चिमा राष्ट्रहरूमा यसलाई पिउनेपानीमा मिसाउने चलन छ । गिजा र दाँत समाति राख्ने तन्तुको रोग, (दन्त हर्सा), बाङ्गो टिङ्गो दाँतले हुने समस्या (माल अक्लुजन), मुखको क्यान्सर, मुख, अनुहार र दाँतमा लाग्ने चोटपटक, तालु र ओठको खुँडेपन, स्वास गन्हाउने समस्या (ह्यालिटोसीस), नोमा र शारीरिक बिमारीका कारणले मुखमा देखिने समस्याहरु प्रमुख समस्या हुन् । अहिले शहरमुखी जनजीवन र खानपान, मुख स्वास्थ्यसँग जनचेतनाको अभाव, जंकफुड ह्याबिट जस्ता खाद्य ब्यवहारले मुख स्वास्थ्यमा समस्या निम्ताएको छ ।
मुख स्वास्थ्यमा देखिने अधिक समस्याहरु रोकथाम गर्न सकिने खालका भएकाले समुदाय र स्कुलमा मुख स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम र पाठ्यक्रम विकास गर्ने नीतिगत ब्यवस्था गरिनु पर्दछ ।
मधुमेह, उक्तरक्तचाप, मुटुरोग, मानसिक रोग नकारात्मक सोचका उपज हुन् । यसबाट मुक्त हुन आफ्नो जीवनशैली परिवर्तन गर्न जरूरी छ । भोजन आहार हो, जसलाई हामीले मुख र जिब्रोद्वारा भित्र लिन्छौं । तर आँखाद्वारा पनि हामीले बाहिरको दृश्य भित्र लिन्छौं । दृश्य पनि आहार नै हो । कानले लिने आवाज, छालाले गर्ने स्पर्श तथा मनले ग्रहण गर्ने विचार र कल्पना पनि आहार नै हो । गलत विचारको आहारले नै अधिकांश मानसिक रोग सुरु हुन्छन् ।
दाँत तथा मुख स्वास्थ्य हाम्रो शारीरिक स्वास्थ्यको ऐनाको रुपमा हेरिन्छ । धेरै दीर्घ रोगहरूको सुरुवाती लक्षण मुखमा सामान्य परिवर्तन आएर देखिन्छ भने अर्कोतर्फ मुख स्वस्थ्य राख्न सकिएन भने त्यसकै कारणले अन्य धेरै रोगहरूको सिकार बन्नुपर्ने अवस्था पनि आउँछ । त्यसकारण शारीरिक रुपमा स्वस्थ्य रहनलाई मुख स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने देखिन्छ । मुख तथा दाँत सम्बन्धी धेरै रोगहरूको सजिलै रोकथाम गर्न सकिने भएतापनि विश्वभर नै धेरै मानिसहरु मुख तथा दाँत सम्बन्धी कुनै न कुनै समस्याबाट ग्रसित रहेको धेरै अध्ययनहरुले देखाएको छ । विकसित देशहरुमा मुख्यतः खानपिनको कारणबाट धेरै मुख तथा दाँत सम्बन्धी रोगहरु लागेको पाइन्छ भने विकाशिल देशहरुमा भने जनचेतनाको र स्वास्थमा पहुँचको कमि कै कारण पनि धेरै मानिसहरूमा मुख सम्बन्धी समस्या देखिने गरेका छ्न् । विभिन्न देशमा भएका फरक फरक अध्ययनले शैक्षिक अवस्था, आर्थिक अवस्था र सामाजिक अवस्थाको मुख स्वास्थ्यसँग गहिरो सम्बन्ध रहेको देखाएको छ । हाम्रो जस्तो देशमा मुख तथा दाँत सम्बन्धी धेरै समस्याहरुको मुख्य कारकतत्व मध्ये जनचेतनाको कमि, आर्थिक, सामाजिक अवस्था, अनि सरकार र सरोकारवाला निकायहरूले मुख स्वास्थ्यलाई उपेक्षामा पार्नु नै हो । दाँत तथा मुख सम्बन्धी धेरै समस्यामा दाँत नदुखे पनि दाँत बाङ्गोटिङो हुनु, दाँत नहुनु, बोली राम्रोसँग नआउनु, ओठ तथा तालुमा चिरा पार्नु, दाँतमा दाग हुनु, स्वास गन्हाउनु लगायत थुप्रै दाँत सम्बन्धी समस्या छन् भने ब्यक्ति खुलेर हाँस्न पनि नसक्ने र सार्वजनिक कार्यक्रममा प्रस्तुत हुँदा समेत आत्मविश्वासको कमि हुने धेरै अध्ययनले देखाएको छ । त्यसैले दाँत र मुखमा दुखाइ हुने मात्र समस्या नभई दाँत सम्बन्धी अन्य समस्याले पनि मानिसको जीवनशैलिलाई धेरै हदसम्म असर गरेको हुन्छ ।
नेपाल सरकारले राष्ट्रिय मुख स्वास्थ्य नीति २०७०, मुख स्वास्थ्य निर्देशिका २०७१ मा नै नेपालमा दन्त चिकित्सक अस्पताल स्थापना गर्ने, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, प्रादेशिक अस्पतालमा थप दरबन्दी सृजना गर्ने भनेर घोषणा गरेको थियो । तर आज २०७९ पुषसम्म पनि न त अस्पताल स्थापना गर्ने बिषय अघि बढेको छ, न दरबन्दी सृजना गर्ने बिषय नै अगाडि बढेको छ । दाँत तथा मुख सम्बन्धी उपचार सबैको पहुँचमा छैन ।
दाँत शरीरको स्वास्थ्य र सौन्दर्यसँग अभिन्न रुपले जोडिन्छ । खानेकुरा एकदमै राम्ररी चपाएर खानुपर्छ । जति मिहिन ढंगले चपाउन सकिन्छ, त्यती नै पाचन यन्त्रका लागि सहज हुन्छ । अतः यसका लागि दाँत बलियो र सफा हुनैपर्छ । दाँत बलियो भएमा समग्र पेट वा स्वास्थ्य राम्रो हुन्छ । जे खादा पनि बत्तिसपटक चपाएर खानु पर्दछ । दाँतलाई सफा राख्न धेरै गाह्रो छैन । खाना खाएपछि दाँत राम्ररी सफा गरे पुग्छ । दिनमा दुई पटक राम्ररी ब्रस गर्ने वा अन्य खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्ने विधीले दाँत सफा हुन्छ वा दाँतमा फोहोर जम्न पाउँदैन ।
हामीले ब्रस गर्न सानैबाट सिकेका हुन्छौं तर आश्चर्यजनक मान्नु पर्दछ कि धेरैजसो मानिसहरुले अझै पनि सहि ढंगले ब्रस गर्न जान्दैनन् । दन्त चिकित्सकहरुका अनुसार स्वस्थ्य र मजबुत दाँतको लागि दैनिक ब्रस गरिसकेपछि जिब्रो पनि राम्रोसँग सफा गर्नुपर्छ । चिकित्सकका अनुसार हामीले दिनमा कम्तीमा पनि दुई पटक ब्रस गर्नुपर्छ र ब्रस गरेपछि नुनपानीले कुल्ला वा माउथ वास गर्नुपर्छ । यसले हाम्रो दाँत र गीजाहरुलाई ब्याक्टेरियाबाट बचाउँछ । कम्तिमा दुई मिनेटसम्म ब्रस गर्नु पर्दछ । यसले मुखभित्रको सतहबाट विभिन्नखाले ब्याक्टेरिया निस्कन्छन् र दाँतमा हुने क्षतिलाई पनि रोक्छ । हरेक तीन तीन महिनामा ब्रस परिवर्तन गर्नु पर्दछ तर तीन महिना भन्दा धेरै प्रयोग गर्दा पनि ब्रस खराब नभएको हुनसक्छ तर त्यसलाई छोडेर नयाँ ब्रस किन्नुपर्छ । यदि दाँतमा कालो दाग देखिएको छ, खाना दाँतमा फस्न थालेको छ, चिसो तातो खाँदा दाँतमा झनझनाहट हुन्छ वा गीजाबाट रगत आउन थालेको छ भने दन्त चिकित्सकसँग भेटेर उचित उपचार गर्न ढिला गर्नुहुन्न । समयमा चिकित्सकसँग परीक्षण गराइ मुख र दात स्वस्थ्य राख्नु पर्दछ ।
चिनीजन्य पदार्थ नखाने जुन पेयपदार्थमा चिनीको मात्रा बढी हुन्छ, तिनले दाँतलाई असर गर्छन् । यतिसम्म कि सुगरफ्री ड्रिंक्समा समेत सोडा तथा अन्य फिँज आउने पदार्थ हुन्छ । यसले दाँतमा क्याबिटीको खतरा हुन्छ । फिँज आउने पेयपदार्थमा बढी मात्रामा कार्बोनिक एसिड हुन्छ । यसले दाँतको आवरणमा नोक्सान पु-याउँछ । साथै मादकपदार्थबाट टाढा रहनु ठिक हुन्छ । एउटा अध्ययन अनुसार मादकपदार्थ सेवन गर्दा क्याबिटी र गिजाको रोग लाग्ने सम्भावना बढी हुन्छ । अझ यदि राति रक्सी पिएर सुत्ने हो भने यसले दाँतमा झनै खराबी गर्छ । सो समयमा रक्सीका कारण झनै ब्याक्टेरिया सक्रिय हुन्छन् । दाँतलार्इ बलियो बनाउन नियमित चेकअप गर्नु पर्दछ । जबसम्म हाम्रो दाँत दुख्दैन वा क्याबिटी हुँदैन, तबसम्म डेन्टिस्टकहाँ नजाने हाम्रो बानी छ  । यो गलत हो । सकभर दाँत सम्बन्धी गम्भीर रोग लाग्नु भन्दा अघि नै डाक्टरकोमा जानुपर्छ । यदि दाँतसम्बन्धी गम्भीर रोग नै लागेको भए पनि नियमित चेकअपमा गएको खण्डमा समयमै ठीक हुन्छ । दन्त क्यान्सर जस्तो ठूलो खतराबाट बच्न सक्नुहुनेछ ।

दाँत तथा मुख सफा गर्न बिहान र बेलुका खाना खाएपछि फ्लोराइडयुक्त दन्त मन्जन प्रयोग गरी दाँत माझ्ने, अन्य समयमा खानेकुरा खानासाथ मुख कुल्ला गर्ने, दाँत बिचको सतह डेन्टल फ्लस को प्रयोग गरी सफा गर्ने, बालबालिका दुर्इ वर्ष नपुग्दासम्म सफा कपास पानीले र दुर्इ वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गरिदिने, टाँसिने, प्रशोधित, गुलियो, धेरै तातो वा चिसो, अमिलो खाद्य पदार्थ नखाने, धूम्रपान, मदिरा, सुर्तीजन्य पदार्थ, पान, सुपारी सेवन नगर्ने, रेसादार, ताजा फलफूल, हरियो सागपात, दूध, माछा जस्ता सन्तुलित खानाको प्रयोग गर्ने हरेक ६ महिनामा दन्त परीक्षण गराउने, यदि राखौं, बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगहरूबाट बच्न सकिन्छ।
मुखको सफाइलाई स्वास्थ्य जीवनका लागि महत्त्वपूर्ण मानिन्छ । शरीरका सम्पूर्ण अङ्ग प्रत्यअङ्गलाई स्वास्थ्य वा अस्वास्थ्य बनाउन मुखले प्रत्यक्ष भूमिका खेलेको हुन्छ। त्यसैले मुख सधै स्वास्थ्य राख्ने बानी बसाल्नुपर्छ । बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगबाट बच्न सकिने चिकित्सकको भनाइ छ।
बिहान र बेलुका खाना खाएपछि फ्लोराइडयुक्त दन्त मन्जन प्रयोग गरेर दाँत माझ्ने, अन्य समयमा खानेकुरा खानासाथ मुख कुल्ला गर्ने, दाँतबीचको सतह डेन्टल फ्लसको प्रयोग गरी सफा गर्ने, दाँतको सुरक्षाका लागि गुलियो, धेरै तातो वा चिसो, अमिलो खाद्य पदार्थ नखाने गर्नुपर्छ । मदिरा, सुर्तीजन्य पदार्थ, पान, सुपारी सेवन नगर्नु नै दाँतको लागि राम्रो हुन्छ । रेसादार, ताजा फलफूल, हरियो सागपात, दूध, माछाजस्ता सन्तुलित खानाको प्रयोग गरेपछि मुख सफा गर्नुपर्छ। कम्तीमा हरेक ६ महिनामा दन्त परीक्षण गराउँदा मुख सफा हुने चिकित्सकहरूको भनाइ छ ।
दाँत कीराले खानु, गिजा सुन्निनु, पाक्नु, पिप वा रगत आउनु, गिजा पाक्नु र दुख्नु आदि दाँतका समस्या हुन् । यो समस्यालाई सामान्य रूपमा लिदा समस्या झन् ठूलो हुनसक्छ । किनकि पायरिया अर्थात् दन्तहर्षा रोगबाट पीडित हो वा त्यो सम्भावना छ भन्ने बुझ्नुपर्छ । दाँतको मुख्य समस्यामा दाँतको सडन र पायरिया हो । पायरिया दाँतको गम्भीर रोग हो । यसलाई चलन चल्तीको भाषामा दन्तहर्षा भनिन्छ । सामान्यतया हरेकपटक खाना खाइसकेपछि मुख कुल्ला गर्ने बानी नहुँदा र राति सुत्नुअघि ब्रस नगर्दा सानो वा ठूलो जुनसुकै उमेरमा पनि यो समस्या निम्तिन सक्छ । पायरिया रोग दाँत र गिजामा निर्मित भइरहेका जीवाणुहरूको कारणले गर्दा हुन्छ । दाँतको सफाइमा कमी, लापरबाही वा पूर्ण सफाइ नहुनाले यो रोग सबैभन्दा छिटो हुन्छ । त्यसैलाई पायरिया भनिन्छ । यसमा व्यक्तिको सास गन्हाउनु, ब्रस गर्दा गिजाबाट रगत आउनुका साथै अन्य समस्या देखिन्छन् । जाडो मौसममा पायरिया भएकाहरूलाई चिसो पानी पिउनै मुस्किल हुन्छ । पानीमात्र होइन, कहिलेकाहीँ त हावाले पनि दाँत सिरिंग बनाउँछ । तातो वा चिसो पेयपदार्थ खानै सकिँदैन ।
नियमित आहार र दाँतको सुरक्षामा ध्यान नदिनु वा पूर्ण रूपले अभाव हुनु, दाँतमा अन्नका कणहरू अड्किनु र दाँत सड्नु, दाँतमा अत्यधिक फोहोर जम्मा हुनु, मुख गन्हाउनु र मुखको स्वाद नराम्रो हुनु, जीवाणुहरू मुखभित्र प्रसारण हुनु, गिजामा जलनको अनुभव हुनुका साथै मुखमा छालाको निर्माण हुनु, गिजामा पिप जम्मा हुनु, अलिकति छुने बित्तिकै गिजाबाट रगत वा पिप आउनु जस्ता पायरिया वा दन्तरोगका कारण र लक्षणहरू हुन् ।

हाम्रो मुखभित्र सात सय किसिमका ब्याक्टेरिया हुन्छन् । यिनीहरूको संख्या करोडोमा हुन्छ । समयमा मुख, दाँत र जिब्रोको सफाइ गरिएन भने यी ब्याक्टेरियाले दाँत र गिजालाई हानि पुर्‍याउँछन् । गिजामा भएको संक्रमणका कारण मुखको बिकार पेटमा पुगेर रक्तसञ्चारको माध्यमबाट मुटु, मस्तिष्क, कलेजो, किड्नी, फोक्सोमा पनि संक्रमण गराउँछ । पायरिया भएपछि दाँतलाई सपोर्ट गर्ने चिउँडोको हड्डीलाई ठुलो असर पुराउछ । पायरिया हुनबाट बचाउन, शरीरमा भएका विषाक्त तत्वहरूको निष्कासनका लागि प्रशस्त मात्रामा पानी पिउने, पायरियाको उपचारका क्रममा बिरामीले मसला रहित उसिनेको सागपात मात्र खाने, भिटामिन सी, डी र क्याल्सियमयुक्त खाना खाने, जस्तैँ गाँजर, हरियो सागपात, पालुंगो, मेथीको साग, प्याज, मुला, अमला, गोलभेँडा, कागती, सुन्तला, मौसम, स्याउ, अम्बा, केरा, अंगुर आदि खाने । सन्तुलित भोजनका साथै दाँत बलियो बनाउन व्यायाम पनि आवश्यक हुन्छ । दाँतको व्यायाम नहुने हुँदा दाँत कमजोर भई रोग लाग्ने गर्छ । त्यसैले दाँत बलियो बनाउन समय समयमा मकै, भटमास, मटर, चना, छुर्पी, स्याउ, अम्बा, बदाम आदि खानुपर्छ । कम्तीमा वर्षको दुईपटक दन्तचिकित्सक कहाँ गई दाँतको जाँच गराउनुपर्छ । यसो भएमा सुरक्षित रहन सकिने चिकित्सकहरूको राय छ ।
मसलेदार खानपान, जंकफुड र डिब्बा बन्द आहारको सेवन बिल्कुलै गर्नु हुँदैन, चीज तथा दूधबाट बनेका अन्य उत्पादन जस्तै पेडा, बर्फी, दुधमलार्इ, रसबरी नखाने, धूमपान, खैनी, गुट्खा र पानजस्ता चिज नखाने यसले पायरियालाई बढाउँछ, पायरियाबाट पीडित बिरामीले कहिल्यै पनि चिनी, मिठाई, चकलेटजस्ता खाद्यपदार्थ प्रयोग गर्नु हुँदैन । धेरै चिसो वा तातो पेयपदार्थको सेवन नगर्ने पायरियाबाट बच्ने र दाँत कमजोर हुनबाट बच्ने उपायहरू हुन् । तोरीको तेलमा अलिकति नुन र बेसार मिसाएर दाँत र गिजालाई औंलाले हल्का किसिमले सफा गर्ने, नीमको पात पानीमा उमालेर कुला गर्ने जस्ता घरेलु उपायहरू पर्दछन् ।
अन्त्यमा, समय समयमा चिकित्सकसँग दन्त परीक्षण गराइ दाँतको राम्रो सुरक्षा र स्वस्थ्य खानेकुराहरु मुखको ख्याल राख्नका लागि जरुरी बिषयहरु हुन् । बढ्दो फास्ट फुड, चिसो तातो खाने चलनले बालबालिकाहरु झनै मुखको स्वास्थ्यको जोखिममा हुन्छन् । समयमा मुख, दाँत र जिब्रोको सफाइ गरिएन भने यी ब्याक्टेरियाले दाँत र गिजालाई हानि पुर्‍याउँछन् । गिजामा भएको संक्रमणका कारण मुखको बिकार पेटमा पुगेर रक्तसञ्चारको माध्यमबाट मुटु, मस्तिष्क, कलेजो, किड्नी, फोक्सोमा पनि संक्रमण गराउँछ । पायरिया हुनबाट बचाउन, शरीरमा भएका विषाक्त तत्वहरूको निष्कासनका लागि प्रशस्त मात्रामा पानी पिउने, पायरियाको उपचारका क्रममा बिरामीले मसला रहित उसिनेको सागपात मात्र खाने, भिटामिन सि, डि खाने, धूमपान, मद्यपान, चिनीजन्य पदार्थ, जङ्कफुड, खैनी, गुट्खा र पानजस्ता चिज नखाने यसले पायरियालाई बढाउँछ, बिहान बेलुका खाना खाएपछि फ्लोरार्इड युक्त टुथपेष्ट र नरम ब्रसले दाँत माझ्ने, मुख सफा गर्ने, सकारात्मक सोचका साथ मुख स्वास्थ्य सम्बन्धि जनचेतना बढाउने, खानपान र मुखको सरसफार्इमा ध्यान दिएमा करिब नब्बे प्रतिशत मुखका रोगबाट बच्न सकिनेमा विश्वास गर्न सकिन्छ ।
लेखकः बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %