“अन्तिम सासको आवाज” – आमा…….
मेरो आवाज सुन्दै छौ तिमी
यो भिडभाड, यो गोली, यो धुवांबीच
तिमीलाई सम्झँदै सास लुकाउंदै छु म ।
तिमीले मलाई भोक लाग्दा
काखमा राखेर खुवाएको सम्झन्छु
मलाई चोट लाग्दा
तिमीले सुम्सुम्याएको सम्झन्छु
तर आज मलाई सबैभन्दा ठूलो चोट लागेको छ
रगतको नदि बगिरहेको छ
तर मलाई सुम्सुमाउने तिम्रा हात टाढा छन।
म देशको लागि बाँच्ने
प्रतिज्ञा गरेर आएको थिएं
तर आज देशको लागि मर्न बाध्य भएं
तिमीलाई देखाउन चाहन्थें
तिम्रो छोरो वीर भएको छ भनेर
तर आमा…
वीरताको मूल्य यति भारी हुन्छ भनेर
मलाई कसैले सिकाएन ।
म दौडिएको थिएँ
देशको झण्डा बोकेर
स्कुलको झोला बोकेर
समृद्द नेपालको सपना बोकेर
तिम्रो मेरो सुनौलो भविष्य बोकेर
तिमीलाई गर्व दिलाउने
अभिलाषा बोकेर।
तर आमा
मेरो हातबाट झण्डा खस्यो
भविष्य बोकेको मेरो झोला रगतले भिज्यो
तिम्रो शिर उच्च राख्ने मेरो शिरमा गोलीले छेड्यो
किताब कलमले गोलीको प्रतिकार गर्न सकिन
मुटु नचल्ने गरी चिरीएको छ
तिम्रो स्पर्ष खड्किएको छ आमा ।
म भिडमा चिच्याउंदै थिएँ
देशलाई उज्यालो पार्ने सपना लिएर
तर आमा…
यो सपना त मेरो रगतसँगै ढल्दैछ
तिमीले पकाएको माम
तिमीले दिएको माया
तिमीलाई सम्झिँदै म कसरी बिदा मांगु आमा
पीडालाई शक्तिमा बदल है आमा
किनकि तिम्रो छोरो तिम्रो मात्रै रहेन
देशको सपुत बनेको छ ।
मेरो हातमा तातो चिया पर्दा
तिमीलाई पोल्थ्यो
आज मेरो रगतले बाटो तातेको छ
म देशको काखमा निदाउँदैछु ।
तिमीले किन्देको दशैंलाई लुगा
हेर्न नपाई स्कुलकै ड्रेसमा सुत्दैछु
आमा…
तिमी सुन्दै छौ मेरो स्वर ?
भीडको नारामा, गोलीको गर्जनमा
हराएको मेरो स्वर
तिमीले सुन्न सक्छ्यौ भने
अन्तिम पटक सुन
मलाई माफ गरिदेउ है आमा ।
तिमीलाई एकपल्ट
अँगालो हाल्न पाए हुन्थ्यो
तिम्रो सासको गन्ध
मेरो सासमा मिसाउन पाए हुन्थ्यो
तर अब मेरो सास त
तिम्रो साथ होइन
धुलो, रगत र पीडासँग रोमलिएको छ।
मेरो वियोगमा मुटु नजलाऊ
मेरो सपना तीम्रो आँसुमा नडुबाउ
अब समय आयो आमा
मेरो रगत पोतिएको धर्ती
रक्षाको लागि हिम्मत जुटाउ ।
मलाई थाहा छ
तिम्रो काख रित्तीयो
बुबाको कांध भांचियो
बहिनीको तिहार सकियो
घरको सबै खुसी लुटियो ।
दाजुभाई १३ दिन आउलान
छिमेकी केही समय आउलान
कोही फोटो बोकेर आउलान
कोही फोटो खिचाउन आउलान
कोही समाचार बनाउन धाउलान
कति बिचलित नहोउ आमा
आत्मा सांक्षि छ, बलिदान साक्षी छ
जुरुक्क उठ अब
न्यायका लागि अब तिम्रो पालो बांकी छ ।
मेरो मन रोइरहेको छ
तिमीलाई एकपल्ट “आमा”भनेर
काखमा आउन मन छ।
तर अब त्यो सम्भव छैन
कमजोर हुँदैछ मेरो श्वर
आमा…
छातीमा आगोले झैं पोलिरहेको छ
रगतले प्यास मेटिंदैछ
म आँखाले अझै बाटो खोज्दै छु
घरको बाटो
तिम्रो काखतिरको बाटो
तर यो बाटोमा तिमी छैनौ
कसैले घिसारीरहेछ मलाई
तैपनि तिमीलाई सम्झँदै छु आमा
आँसु बगेको छ भित्र भित्रै
न आँसु पोख्ने समय छ, न त ठाऊ
सास भारी छ,
ओठले तिम्रो नाम फुस्काउँदैछ
“आ… मा…”
तर त्यो शब्द पनि आधा मात्रै निस्कन्छ
मलाई माफ गर ल आमा

लेखकको सम्वन्धमा