एक्लै चमत्कार हुँदैन, प्रणालीले परिणाम दिन्छ : गगन थापा

एक्लै चमत्कार हुँदैन, प्रणालीले परिणाम दिन्छ : गगन थापा
0 0
Read Time:2 Minute, 39 Second

बुटवल । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रमा ‘व्यक्तिगत चमत्कार’ सम्भव नहुने बताएका छन् । शुक्रबार (फागुन १५) रुपन्देहीको बुटवलमा आयोजित चुनावी सभामा उनले देश निर्माण सामूहिक प्रयासबाट मात्र सम्भव हुने धारणा राखे ।

“यहाँ कुनै एउटा व्यक्ति आएर चमत्कार गर्ने होइन । डेमोक्रेसी भनेको चमत्कार व्यक्तिले गर्ने पद्धति नै होइन,” उनले भने, “प्रधानमन्त्री एक्लैले तिलोत्तमाको गाउँमा विकास पुर्‍याउन सक्दैन, त्यसका लागि मेयर, वडा अध्यक्ष र सबै तहको सहकार्य चाहिन्छ ।”

कांग्रेसले अघि सारेको ‘टिम नेपाल’ अवधारणा उनले उल्लेख गरे । उनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अपरिहार्य रहेको बताए ।

संविधान संशोधनका निम्ति बहुपक्षीय सहमति आवश्यक पर्ने भन्दै उनले एकल निर्णय र शासनको प्रवृत्तिले देशलाई अस्थिरतातर्फ धकेल्न सक्ने चेतावनी दिए ।

अबका पाँच वर्षमा देशले ‘गति र ग्यारेन्टी’ दुवै पाउने उनको भनाइ थियो । “स्पिड चाहिन्छ, तर दुर्घटना नहुने सुनिश्चितता पनि उत्तिकै जरुरी छ,” उनले भने ।

थापाले पहाड र तराईको आर्थिक असन्तुलनप्रति चिन्ता व्यक्त गरे । पहाडको अर्थतन्त्र कमजोर हुँदा सहर मात्र समृद्ध हुन नसक्ने उनले बताए । रुपन्देही र बुटवलजस्ता क्षेत्रबाट समेत युवा विदेशिनु चिन्ताजनक रहेको भन्दै उनले शिक्षा, रोजगारी र उत्पादनमुखी नीतिमा जोड दिए । “विकास भनेको केवल पूर्वाधार मात्र होइन,” उनले भने ।

सामाजिक सञ्जालमार्फत फैलने उत्तेजनापूर्ण राजनीतिप्रति सचेत गराउँदै उनले प्रणाली सुधारबिना परिणाम सम्भव नहुने बताए । सडक निर्माण प्रक्रियालाई सरल बनाउन ४१ कानुन संशोधन प्रस्ताव तयार गरिएको जानकारी उनले दिए ।

“देशलाई अगाडि बढाउने र सम्हालेर लैजाने शक्ति कांग्रेससँग छ,” उनले भने ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %