चर्चाका समाचारहरु

बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड

बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
0 0
Read Time:3 Minute, 54 Second

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि शनिबारदेखि सुरु हुने भएको छ । प्रतियोगिता बुटवल–११ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुने छ ।
नगर खेलकूद विकास समितिको आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको समितिले जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराइएको हो ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले यस प्रतियोगितालाई “खेलकूद मेला” को रुपमा लिइएको बताउँदै यसबाट विद्यार्थीभित्र लुकेका उत्कृष्ट खेल प्रतिभा पहिचान गर्न सकिने उल्लेख गरे । उनले बुटवलकै उत्कृष्ट खेलकूद प्रतियोगिताका रुपमा सफलतापूर्वक सम्पन्न गर्न निर्देशनसमेत दिएका छन् ।
प्रतियोगिताले विद्यार्थीमा खेल प्रतिभाको उजागर, सामूहिक भावना र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने विश्वास उनले व्यक्त गरे ।
त्यस्तै उपप्रमुख सावित्रादेवी अर्यालले खेलकूदका माध्यमबाट विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
प्रतियोगितामा बुटवल उपमहानगरभित्रका ४२ सामुदायिक तथा निजी विद्यालयका जम्मा १ हजार ५८८ विद्यार्थी सहभागी हुने छन् । जसमा ९४१ छात्रा र ६०७ छात्र रहेका छन् । प्रतियोगितामा कुल ३५० उपाधिका लागि प्रतिस्पर्धा हुने खेलकूद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फ दौड, ज्याभ्लिन थ्रो, सटपुट, लङ जम्प, हाई जम्प, ट्रिपल जम्प लगायतका इभेन्टहरू समावेश छन् । यस्तै कराते र तेक्वान्दोमा ६–६ विधा तथा भलिबल र कबड्डी खेल पनि समावेश गरिएको छ ।
रनिङ शिल्ड विजेता विद्यालयले २५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछ भने उपविजेताले १५ हजार र तेस्रो हुने विद्यालयले १० हजार रुपैयाँ पाउने छन् ।
भलिबलतर्फ छात्रा र छात्र दुवै समूहका विजेतालाई १५ हजार तथा उपविजेतालाई ७ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ ।
कबड्डीतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः १५ हजार, ७ हजार ५ सय र ३ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ ।
एकल प्रतिस्पर्धातर्फ कराते र तेक्वान्दोका विजेतालाई २ हजार, द्वितीयलाई १ हजार ५ सय र तृतीयलाई १ हजार रुपैयाँ नगद प्रदान गरिने भएको छ ।
प्रतियोगितामा सहभागी विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै खेल अवधिभर दुर्घटना बीमाको व्यवस्था गरिएको पनि खेलकूद विकास समितिले जनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %