रुपन्देही १ : न बन्यो रंगशाला, न पाए १० हजार युवाले रोजगारी
देवदह, २९ कार्तिक । वि. सं. २०७४ सालमा नेकपा (एमाले)को तर्फबाट रुपन्देही क्षेत्र नं.१ को उम्मेदवार बनेका छविलाल विश्वकर्माले तीस हजार बढी मत ल्याएर निर्वाचन जिते । तत्कालीन अवस्थामा नेकपा माओवादी केन्द्र समेतको तालमेलको बलमा निर्वाचन जितेका विश्वकर्मा पछि एमाले र माओवादीको एकता भएपछि नेकपाको नेता भए । उनी सामान्य नेतामात्रै भएनन्, पार्टीको केन्द्रिय नेतृत्वमै रहेर काम गर्दै आए र हाल उनी एमालेको केन्द्रिय सचिवको भुमिकामा पार्टीमा छन् भने पुनः रुपन्देही-१ बाटै चुनावी मैदानमा छन् ।
यसअघिको निर्वाचनमा तामझाम सहित घोषणापत्र सार्वजनिक गरेर निर्वाचनमा होमिएका विश्वकर्माले यो पटक भने घोषणा पत्र लेख्न र सार्वजनिक गर्न आवश्यक ठानेनन् । यो पटक क्षेत्रस्तरीय घोषणा पत्र सार्वजनिक नगर्ने र केन्द्रिय घोषणापत्रबाटै काम चलाउने टुंगोमा यतिबेला उनको टिम पुगेको छ ।
विश्वकर्माको नयाँ घोषणा पत्र पढ्न नपाएका यहाँका यतिबेला उनको पुरानो घोषणा पढेर सामाजिक संजामा पोस्ट्याउने गरेका छन् । आउनुहोस्, छविलाल विश्वकर्माले मतदाता समक्ष जनाएका केके प्रतिबद्धता पूरा गर्न सकेनन् भनेर चर्चा गरौं ।
गत निर्वाचनमा उनले बृहत्तर लुम्बिनी पर्यटकीय क्षेत्र अन्तर्गत सास्कृतिक संग्रालय, धार्मिक क्षेत्रको विकास, जंगल सफारी पार्क, ग्रीन बेल्ट ग्रीन सिटि, केउली-सरनवारी होमस्टे, वृद्ध भत्ता ५ हजार पुर्याइने, कृषि उपज व्यवस्थापन जोड दिईने, १ हजार किलोमीटर सडक कालोपत्रे गरिने, दाउन्ने माथागढी केबलकार, देवदह-५ को पानबारीमा रंगशाला निर्माण गर्ने र १० हजार युवालाई रोजगारी दिने लगायतका योजनाहरू उनको प्राथमिकतामा थिए।
यतिबेला एमालेका उनी निकट कार्यकर्ताहरू घोषणा पत्रमा उल्लेख भएका धेरै कुराहरू पूरा भएको र केही काम पूरा हुने क्रममा भएको भनेर सामाजिक संजालमा क्युआर कोड मार्फत सार्वजनिक गरिरहेका छन् । तर पूरा हुनुपर्ने योजनाहरु किन हुन सकेनन् भन्नेबारे न उम्मेदवार विश्वकर्मा कहिँ सार्वजनिक रुपमा बोल्छन् नत उनका कार्यकर्ता नै ।
उनको घोषणापत्रमा पानवारी खेल मैदानलाई स्वर्गीय नर बहादुर नेपाली स्मृति रंगशालाको रुपमा निर्माण गरिने भनेर उल्लेख थियो । झण्डै ५० लाख रुपैयाँ खेलमैदान फिलिङ लगायत मर्मतमा खर्च पनि भयो । मैदान निर्माणको सुरुवाती चरणदेखीनै विवाद हुँदा रंगशाला त बनेन नै आर्थिक हिनामिनाको भएको उजुरी परेपछि खेलमैदानको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ।
त्यस्तै दाउन्नेदेखि माथागढी केबलकारको योजना पनि भारतीय उखान ‘दिल्ली दुर हे’ जस्तै भयो । निर्वाचन जितेपछि उनले यस विषयमा कहिँकतै चर्चा समेत गरेनन् । त्यसैगरी जङ्गल सफारी र सरवारी केउली होमस्टे, ग्रीन बेल्ट ग्रीन रोडको चर्चा पनि निर्वाचन सकिएसंगै सकियो ।
विश्वकर्माले उठाएको अर्को मुख्य विषय थियो १० हजार जना युवालाई रोजगारीको । घोषणा पत्रमा लेखिएको यो योजना कहाँ पुग्यो र यस क्षेत्रका कुनकुन १० हजार नागरिकले रोजगार पाए भन्ने कसैलाई पत्तो छैन । कोभिड संक्रमण र राजनीतिक अस्थिरतारताको बिषय आफ्नो ठाउँमा रह्यो तर कोभिड अघि र पछि पनि रोजगार सृजनाको विषयमा सामान्य पहल र प्रयास केही गरेको पाइएन।
जब चुनाव आउँछ, राजनीतिक दलहरूले ठूला–ठूला आश्वासन दिँदै घोषणापत्र सार्वजनिक गर्छन्। त्यो क्रम यस अघिको संघीय निर्वाचनमा पनि देखियो । यस पटक पनि घोषणा पत्रमा थुप्रै आश्वासनको पोको बाडिएको छ।
पाँच दलिय गठबन्धन एकातिर र एमाले, राप्रपा सहित विपक्षी गठबन्धन अर्कोतिर भएर चुनावी मैदानमा होमिएका छन् । भने अन्य स्वतन्त्र र नयाँ राजनीति दलहरूले समेत यो निर्वाचनमा भाग लिदैछन । नतिजा कस्तो आउँछ र मंसिर ४ को निर्वाचनपछि यस क्षेत्रको विकास र यस क्षेत्रका नागरिकका आवाज सार्वभौम संसदसम्म पुर्याउने र विकास गर्ने जिम्मा मतदाताले कस्लाई दिन्छन् त्यो भने हेर्न बाँकी नै छ ।


लेखकको सम्वन्धमा