चर्चाका समाचारहरु

कमरेड, मुख देखाउनुस् वा छोप्नुस् तपाईँको मर्जी !

कमरेड, मुख देखाउनुस् वा छोप्नुस् तपाईँको मर्जी !
0 0
Read Time:7 Minute, 4 Second

रुपन्देही जिल्लाबाट जिताएका माननीयहरूले रुपन्देहीका जनताको भावना माथि नाङ्गो खेलबाड गरे, जनताको मत र अपेक्षा माथि प्रहार गरे र समग्रमा भन्दा रुपन्देहीका मतदातालाई धोका दिए । संभवत यि माननीयहरुसंग हिसाब किताब खोज्ने सबैभन्दा उपयुक्त र अन्तिम समय यही नै हो ।
मङ्सिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभाको चुनावका लागि दलका उम्मेदवार तथा कार्यकर्ताहरू मतदाता माझ भोट माग्न जाँदै गर्दा सम्भव/असम्भव हरेक प्रकारका आश्वासन बाँडेको पाइन्छ । यो भनेको दुवै तहका सांसदलाई नीति नियम बनाउने भन्दा विकासे सभामा परिणत गर्दाको परिणाम हो । यो अवस्थामा मतदाताले पनि आफ्नो गांउ ठांउको विकासको अपेक्षा उम्मेदवारसँग राख्नु अति स्वाभाविक हुन्छ । चुनाव जितेर मतदातासँग नेताले गरेका वाचा भुल्छन् भने यो नेताहरूको कमजोरी हो र मतदातालाई कमसेकम ५ वर्षपछि उनीहरूसँग हिसाब किताब खोज्ने अधिकार संविधानले दिएको हुन्छ ।

लुम्बिनी प्रदेश

संघीयतापछि लुम्बिनी प्रदेशमा पनि प्रदेश सरकारको अभ्यास पहिलो पटक भईसक्यो भने दोस्रो ५ वर्षे अभ्यासका लागि मङ्सिर ४ मा निर्वाचन हुदैछ । यो निर्वाचनले लुम्बिनी प्रदेशश भामा प्रत्यक्ष र समानुपातिक गरी ८७ जना सांसदको चयन गर्ने छ र तीनै ८७ सांसदले अवको नया सरकार बनाउने छन् । दलहरूको भाषामा अव बन्ने नया सरकारले जनताको भावना र चाहाना अनुसार काम गर्ने छ ।
यो समय भनेको जनताले नेताको समीक्षा गर्ने र जनचाहना विपरित आफ्ना प्रतिनिधिहरूले काम नगरेको पाए उनीहरूलाई सजाय दिने समय पनि हो । अहिले लुम्बिनी प्रदेशसभाको चुनावमा रुपन्देहीवाट केही नया र केही पुराना नेताहरू चुनावी मैदानमा खडा भएका छन् । नया उम्मेदवारको हकमा उनीहरूको परीक्षण हुन बाँकी छ । निर्वाचनमा पराजय भोगे उनीहरूको परीक्षण हुने कुरै भएन । चुनाव जिते भने उनीहरूको समीक्षा अर्को चुनावमा जनताले विवेकसम्मत तरीकाले गर्ने नै छन् ।

हिजोको धोका

संघीयतापछि सरकारले यो प्रदेशको अस्थायी राजधानी बुटवल तोकेको थियो र संविधानले प्रदेशको स्थायी राजधानी तोक्ने जिम्मेवारी प्रदेश सभालाई दिएको थियो । प्रदेश सभाको समीकरण अनुसार करिब ६५ प्रतिशत जनमत बुटवललाई नै स्थायी राजधानी बनाउने पक्षमा देखिन्थ्यो तर यस्तो अवस्थामा पनि बुटवलबाट अन्यत्र राजधानी सार्ने काम भयो अर्थात् यो जिल्लावाट जिताएका माननीयहरूले रुपन्देहीका जनताको भावना माथि नाङ्गो खेलबाड गरे, जनताको मत र अपेक्षा माथि प्रहार गरे र समग्रमा भन्दा रुपन्देहीका मतदातालाई धोका दिए । संभवत यी माननीयहरुसंग हिसाब किताब खोज्ने सबैभन्दा उपयुक्त र अन्तिम समय यही नै हो ।

प्रश्न गरौँ, उत्तर खोजौँ

संसदमा नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भुमिश्वर ढकालले आफ्ना पार्टीका सांसदहरूलाई उर्दी जारी गरे, ‘रुपन्देहीका सबै सांसदले यहाँबाट राजधानी अन्यत्र सार्ने पक्षमा मतदान गरौँ, अन्यथा पार्टीले कारबाही गर्ने छ ।’

प्रश्न गरौँ–‘रुपन्देहीका मतदाताको भावना माथि खेल्ने अधिकार ढकाललाई कसले दियो ?’
प्रश्न गरौँ–‘जनताको लागि काम गर्नै भन्दै जनताको भोट जितेका ढकालको अगाडी पार्टीका पंहुचवाला नेताको आदेश ठुलो की जनताको आवाज ठुलो ?’
अहिले ढकाल रुपन्देही क्षेत्र नं. ५ बाट प्रदेश सभा सदस्य पदका लागि उम्मेदवार वनेका छन् ।
करिब साढे ३ वर्ष प्रदेश सरकारका मन्त्री भएका लिला गिरी अहिले पनि रुपन्देही क्षेत्र नं. २ (क) बाट प्रदेश सभामा उम्मेदवार वनेका छन् ।
प्रश्न गरौँ – रुपन्देहीवासीको विश्वास ठुलो की, शङ्कर पोखरेलले दिएको मन्त्रालयको भाग ठुलो ?
प्रश्न गरौँ – मतदाताको भावना माथि खेल्ने अधिकार गिरिलाई कसले दियो ?
त्यस्तै राजधानी सार्ने निर्णयमा हस्ताक्षर गर्नेहरू दधिराम न्यौपाने र तुल्सी चौधरी पनि यसपटक रुपन्देहीका विभिन्न क्षेत्रवाट उम्मेदवार वनेका छन् । राजधानी सार्ने नैतिक जिम्मेवारीबाट अर्का उम्मेदवार भोजप्रसाद श्रेष्ठलाई पनि मुक्त हुने सुविधा छैन ।
सबैलाई सोधौँ – जिल्लावासीको भावनासँग जोडिएको राजधानी समेत बचाउन नसक्नेलाई के खुबी देखेर भोट दिने ? अनि उनीहरूले बाँडेका आश्वासनलाई विश्वास गर्ने न्यूनतम आधार के छ ? प्रश्न सोध्ने समय यही नै हो ।

अन्तमा करिब ४ वर्ष अगाडि एक अनौपचारिक कार्यक्रममा त्यस वेलाका सांसद दधिराम न्यौपानेलाई स्थायी राजधानीको विषयमा जिज्ञासा राख्दा उनले भनेका थिए–‘बुटवलवाट राजधानी अन्यत्र सार्ने विषयमा सहमति गरियो भने त जनताका अगाडि कसरी मुख देखाउन सकिन्छ र ?’ राजधानी सार्ने काममा ल्याप्चे ठोक्नु भयो, फेरी चुनावमा उठ्नु भएको छ । माननीय कमरेडहरू भोट माग्न जांदा मुख देखाएर हिड्नुस् वा मुख छोपेर हिड्नुस त्यो तपाईँहरूको मर्जी !

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %