एमाले लुम्बिनी प्रदेश अध्यक्षमा विष्णु पौडेल पक्षका कँंडेल विजयी

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा मंगलवार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कँंडेल विजयी भएका हुन् ।
विजयी कँंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य भरत पोखरेलले जानकारी दिए ।
कँडेललाई उपाध्यक्ष विष्णु पौडेल पौडेल पक्षको समर्थन थियो भने रिजाललाई महासचिव शंकर पोखरेल पक्षको समर्थन थियो ।
प्रदेश अधिवेशन भए पनि यो निर्वाचनलाई एमालेका प्रभावशाली नेताद्वय पौडेल र पोखरेलको शक्ति परीक्षणको रुपमा एमाले भित्र चर्चा भएको थियो ।
त्यस्तै उपाध्यक्षमा पनि कँडेल प्यानलबाट उम्मेदवार बनेका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । रुपन्देहीका श्रेष्ठले ४५५ मत ल्याउँदा रिजाल प्यानबाट उम्मेदवार बनेका रुपन्देहीकै विश्वराज बराल (अनुप) ले ३०६ मत मात्र ल्याउन सके ।
सचिवमा कँडेल प्यानलकै दाङका लक्ष्मण आचार्य निर्विरोध भएका थिए । त्यस्तैगरी उपसचिवमा पुरुषतर्फ रोल्पाका पूर्ण बुढा मगर निर्वाचित भएका छन् ।
रिजाल प्यानबाट बुढा ४१८ मतसहित विजयी हुँदा कँडेल प्यानलका बाँकेका दुर्गा प्रसाद थारुले ३९३ मत मात्र ल्याउन सके ।
त्यस्तै उपसचिव महिलातर्फ कँडेल प्यानलका बर्दियाका लिला राना मगर १ मतले निर्वाचित भएका छन् । ३५१ मत ले राना निर्वाचित हुँदा बाँकेकी बसन्ती अधिकारीले ३५१ मत ल्याइन् ।
यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । घिमिरे पनि कँडेल प्यानलका हुन् । १००४ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ३९ जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् ।
शनिवार शुरू प्रदेश अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । ओलीले सहमतिमा नेतृत्व चयनका लागि दबाव बढाए पनि नेतृत्व चयन मतदान प्रक्रियामा गएको थियो ।
एमालेको गढ मानिने लुम्बिनी प्रदेशमा भएको प्रतिस्पर्धालाई एमालेको आन्तरिक जीवनमा निकै अर्थपूर्ण ढंगले हेरिएको छ ।
लेखकको सम्वन्धमा