“तीज : संस्कृति जगेर्ना र पर्यटन प्रवर्द्धनको साझा चौतारो”
बुटवल । मौलिक पर्व तीजलाई संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाउनुपर्ने सरोकारवालाहरूको जोड रहेको छ।
सञ्चारिका समूह रूपन्देही नेपालले आयोजना गरेको हरितालिका तीज संस्कृति संरक्षण तथा पर्यटक प्रवर्द्धनका लागि महिला पत्रकार अन्तरक्रिया तथा दर खाने कार्यक्रम मा सहभागी वक्ताहरूले तीजमा फैलिँदै गएको विकृति नियन्त्रण गर्दै मौलिकताको जगेर्ना गर्नु आजको आवश्यकता भएको बताए।
महिलाको अवस्था परिवर्तन भए पनि नेतृत्व अझै कमजोर
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जमुना ढकालले महिलाहरूको सामाजिक–आर्थिक अवस्था परिवर्तन भए पनि नेतृत्व तहमा पुग्ने अवस्था अझै कमजोर रहेको उल्लेख गरिन्।
तीज पर्वलाई दुख–सुख साट्ने चौतारोका रूपमा व्याख्या गर्दै उनले भनिन्,
“तीज भड्किलो भयो भन्नेहरू धेरै छन्। तर दशैंदेखि तिहारसम्म पुरुषहरूले गर्ने रमाइलोलाई के भनेर प्रश्न गर्ने त? मौलिकता जोगाउन सामूहिक प्रयास जरुरी छ।”
ढकालका अनुसार हरेक चाडपर्वमा केही कुरिती वा विकृति आउन सक्छन्, तर तीलाई नकारात्मक दृष्टिले मात्र हैन, परिमार्जन गरेर अगाडि बढाउन सकिन्छ।
संस्कृतिले मात्रै होइन, अर्थतन्त्र पनि चलायमान
सिद्धार्थ नगरपालिका उपप्रमुख उमादेवी अधिकारीले चाडपर्वको सकारात्मक पक्षलाई आत्मसात गर्नुपर्नेमा जोड दिइन्। उनका अनुसार, हाम्रा पर्वहरूले सामाजिक एकता मात्र होइन, अर्थतन्त्रलाई समेत चलायमान बनाइरहेका छन्।
“हाम्रा पर्वले महिलालाई बाँध्ने होइन, स्वतन्त्रता दिने बाटो खोल्नुपर्छ। विकृति होइन संस्कृतिलाई जगेर्ना गर्ने तीजलाई महोत्सवका रूपमा अघि बढाउनुपर्छ,” उनले भनिन्।
समयसँगै चाडपर्वको रूप बदलिन्छ
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेलले परम्परागत पर्वलाई नकारात्मक रूपमा मात्रै व्याख्या गर्न नमिल्ने बताए।
“हिजो हामीले जसरी चाडपर्व मनायौं, आज त्यसमा केही भिन्नता आएको छ। तर त्यो सबै विकृति भन्नु न्याय हुँदैन। प्रत्येक पर्वले पर्यटनसँग प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्ध राख्छ र संस्कृतिको जगेर्ना गर्छ,” पोखरेलले जोड दिए।
मौलिकताको अर्थ नबुझ्दा समस्या
संचारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले महिलाहरू तीजमा सहभागी हुन बाहिर निस्किँदा अझै पनि टिकाटिप्पणी हुने गरेको गुनासो गरिन्।
उनका अनुसार धेरैले मौलिकताको वास्तविक अर्थ नबुझ्दा समस्या बढेको छ।
नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्यले तीज हिजो पनि र आज पनि समीक्षाको विषय बनेको बताए।
“विकृति घटाउन एकल प्रयास पर्याप्त छैन। यसका लागि सामूहिक सुधार आवश्यक छ,” उनले भने।
चौतारीदेखि होटलसम्म
नेपाल पत्रकार महासङ्घ रूपन्देही अध्यक्ष दिनेश पाण्डेले हाम्रा पर्वहरू पर्यटनमैत्री भएकाले संस्कार, संस्कृति र अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याएको बताए।
उनले भने,
“पहिले चौतारीमा तीज गीत गाइन्थ्यो, अहिले होटलमा गाइन्छ। तर होटल पनि चौतारी नै हो। परिवेश बदलिएको हो, मौलिकता हराएको होइन।”
संचारिका समूह रूपन्देहीका निवर्तमान अध्यक्ष नीरु गौतमले तीजलाई महोत्सवका रूपमा अघि बढाउन सकिए विदेशीलाई नेपाली संस्कृतिप्रति आकर्षित गर्न सकिने बताइन्।
उनका अनुसार यसले अर्थतन्त्र चलायमान बनाउने मात्र होइन, नेपालको सांस्कृतिक पहिचानलाई विश्वमै चिनाउन सक्नेछ।
क्रियाशील महिला पत्रकार रूपन्देही संस्थापक अध्यक्ष भगवती पाण्डेले सहज र सुविधाका कारण अहिले पार्टी प्यालेस वा होटलमा तीज गीत गाएर रमाइलो गर्ने प्रचलन बढेको बताइन्।
यसलाई विकृतिको रूपमा होइन, आधुनिक रूपान्तरणको रूपमा लिनुपर्ने उनको आग्रह थियो।
निष्कर्ष
कार्यक्रममा सहभागी सरोकारवालाहरूको साझा धारणा थियो – तीजलाई भड्किलो भन्ने भन्दा यसको मौलिकता जोगाउँदै संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्छ।
सञ्चारिका समूह रूपन्देही अध्यक्ष मिना ढकालको अध्यक्षता उपाध्यक्ष अस्मिना पान्डेयको स्वागत र महासचिव छाँया पन्तको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न महिला पत्रकार, सरोकारवाला तथा अतिथिहरूको सहभागिता रहेको थियो।

लेखकको सम्वन्धमा