लगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीको वातावरण नबनेसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताएका छन्। लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल, सहज र विश्वासयोग्य बनाउनु पर्ने उनको भनाइ छ ।
बुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को समापन कार्यक्रममा बोल्दै उनले लगानीको वातावरण मिलाउन नसकिए देशको उन्नति, समृद्धि र विकास सम्भव नहुने बताए।
‘प्रदेश सरकारले लगानीको वातावरण बनाउने विषयलाई गम्भीर रूपमा बुझेको छ । उद्योगी व्यवसायीले भोग्ने समस्या समाधान गर्न प्रदेश सरकार सधैं तयार छ,’ उनले भने।
मुख्यमन्त्री आचार्यले उद्योगी व्यवसायीको मनोबल कमजोर बनाउने काम संघीय सरकारले गरेको टिप्पणी गरे। प्रदेश सरकारले सधैं उद्योगी र व्यवसायीको पक्षमा आवाज उठाउँदै आएको उनको भनाई छ । बिजुली कटौतीको विषयमा प्रदेश सरकारले पहिलोपटक खुलेर बोलेको उल्लेख गर्दै उनले प्रधानमन्त्री र अर्थमन्त्रीसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण गराइएको जानकारी दिए।
बुटवललाई आर्थिक हबको रूपमा विकास गर्न उद्योगी व्यवसायीको योगदान आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार सधैं उद्योगी व्यवसायीको पक्षमा उभिने स्पष्ट पारे।
‘उद्योगी व्यवसायीले भोग्ने कठिनाइ समाधान गर्न प्रदेश सरकार साथमै छ । सधैं अग्रणी मोर्चामा उभिएको छ,’ उनले जोड दिदै भने।
रुपन्देही उद्योग संघ बुटवलको आयोजनामा सञ्चालन भएको महोत्सवको समापन कार्यक्रम संघका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षता तथा सचिव अशोक कुँवरको सञ्चालनमा भएको प्रदर्शनीको प्रतिवेदन महासचिव सुमन बस्यालले प्रस्तुत गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले गरेका थिए।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहोरा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले बोलेका थिए।
पुस ३ गतेदेखि सुरु भएको प्रदर्शनी स्वदेशी उद्योगबाट उत्पादित सामग्रीका ४५० वटा व्यावसायिक स्टल रहेका थिए । यो अवधिभर पूर्व लक्षित योजनाअनुसार करिब ८ लाख दर्शकले अवलोकन गरेको र करिब ३० करोड रुपैयाँको कारोबार भएको र प्रदर्शनीमा सहभागी स्टलधनीहरु अधिकांशले सोँचेजस्तै राम्रो कारोबार भएको जनाएको कोषाध्यक्ष विशाल बेल्वासेले जानकारी दिए। प्रदर्शनीमा ८ लाख अवलोकनकर्ता र ३० करोड कारोबार लक्ष्य रहेकोमा त्यो पूरा भएको आयोजकको भनाइ छ ।
यो पटकको प्रदर्शनीमा सांस्कृतिक कार्यक्रमतर्फ मुख्य आकर्षण रहेको प्रदर्शनी आइडलमा पहिलो बुटवल देवीनगर बस्ने लिट्स कलेजका विद्यार्थी एण्डिज लामिछाने प्रथम, बुटवलको अक्सफोर्ड कलेजमा अध्ययनरत आर्यन श्रेष्ठ दोश्रो र एभरेष्टमा अध्ययनरत विशेष भूर्तेल तेस्रो भएका छन् । त्यसैगरी प्रदर्शनीमा विभिन्न विधामा उत्कृष्ट उद्यमीहरुलाई पुस्कृत तथा सम्मान गरिएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिए।
उनका अनुसार औद्योगिक पेभेलियनमध्ये उत्कृष्ट भएका कपिलवस्तु ग्लास फाइवर इण्डष्ट्रिज, बुटवल औद्योगिक क्षेत्र सञ्चालक प्रमोद पोद्दार, बेकरी, आईसक्रिम तथा अचार पेभेलियनमध्ये उत्कृष्ट आकाश फुड्स,काठमाडौं डिष्ट्रिव्यूटर्सका उत्सव पाण्डे, स्वादिलो अचार तिलोत्तमाकी संचालक ज्योती श्रेष्ठ, ब्युटी तथा सेवा मूलक पेभेलियनमध्ये उत्कृष्ट महालक्ष्मी इन्जिनियरिड्ड कन्सल्टेन्सी तिलोत्तमाका संचालक सुदिप ढकाललाई सम्मान गरिएको छ।
यस्तै, ग्रोसरी पेभेलियनमध्ये उत्कृष्ट शिवशक्ति सोप एण्ड केमिकल्स इण्डष्ट्रिज, बुटवल औद्योगिक क्षेत्र सञ्चालक अखिलेस कसौधन, हाउस होल्ड पेभेलियनमध्ये उत्कृष्ट यूनाइटेड प्लाष्टिक इण्डष्ट्रिज प्रा।लि।, बुटवल औद्योगिक क्षेत्रका सञ्चालक तुलसीबहादुर गुरुङ, कृषि पेभेलियनमध्ये उत्कृष्ट गोर्खाली कृषि औजार इण्डष्ट्रिज सञ्चालक जितबहादुर विश्वकर्मा, हस्तकला पेभेलियनमध्ये उत्कृष्ट दिदीबहिनी अल्लो, दाङकी सञ्चालक हिसिला वली, लक्ष्मी हस्तकला, कपिलवस्तुकी संचालक ललिता खरेललाई सम्मान गरिएको थियो।
यस्तैगरी, गार्मेण्ट्स पेभेलियनमध्ये उत्कृष्ट महाकाली गार्मेन्ट्स, तिलोत्तमा कोटिहवाका सञ्चालक अनिश कुमार कसौधन, होटल तथा रेष्टुरेण्ट पेभेलियनमध्ये उत्कृष्ट डेडीज किचन, बुटवलका संचालक महेन्द्र कुँवर, फुटवेयर्स पेभेलियनमध्ये उत्कृष्ट अनिता सुज उद्योग देवदहका संचालक अनिता बुढाथोकीलाई सम्मान गरिएको छ।
त्यसैगरी उदयमान उद्यमी गाउँघरको स्वाद, बुटवलका सञ्चालक आरजु भुसाल, दही ठेकी, तिलोत्तमा, मणिग्रामका सञ्चालक विशाल गैरे, समग्र स्टलहरुमध्ये सर्वोत्कृष्ट स्टल प्रथम थापा इन्जिनियरिड्ड इण्डष्ट्रिज प्रा।लि। बुटवल औद्योगिक क्षेत्रका सञ्चालक देवानसिंह थापा, द्वितीय ड्रिम वेयर इण्डष्ट्रिज, बुटवलका सञ्चालक बाबुराम अर्याल, तृतीय त्रिशक्ति ग्रुप, बुटवलका सञ्चालक सुरेन्द्र ज्ञवालीलाई पुरस्कृत गरिएको थियो।
त्यसैगरी सान्त्वना पुरस्कारबाट वोमन एक्टका सञ्चालक रेखा थापा, हिपत फुड्स, गुल्मीका सञ्चालक शिव गौतम, लुम्बिनी एजुकेशनल किड्स इण्डष्ट्रिज, बुटवलका सञ्चालक कृष्णप्रसाद पाण्डे, लकासी अचार उद्योग, तिलोत्तमाकी सञ्चालक पार्वती गिरी पुरस्कृत भए।

लेखकको सम्वन्धमा