यी हुन् बुटवलका सय दिनका उपलब्धी
बुटवल । बुटवल उपमहानगरपालिकाले एक सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको एक सय दिन पूरा भएको अवसरमा बुटवल उपमहानगरपालिकाले उपलब्धि सार्वजनिक गरेको हो । शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले एक सय दिनका उपलब्धि सार्वजनिक गरे ।
नगरप्रमुख पाण्डेयले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार विकासको मार्गमा अघि बढाउने बताए । ‘हामी निर्वाचित भएदेखि नै सहमति, सहकार्य, एकता र मेलमिलापको मार्गमा अगाडि बढिरहेका छौं । बुटवल हामी सबैको र हामी सबै बुटवलको भन्ने भावनासहित बुटवलको सम्मुनत विकास तथा देशकै सबल आर्थिक केन्द्र बनाउन निरन्तर लागिरहनेछौं’, उनले भने, ‘हामी बुटवलमा असल शासन, कुशल प्रशासन, चुस्त सेवाप्रवाह र प्रभावकारी कार्यका लागि निरन्तर समर्पित छौं । सबै वडाहरूको सन्तुलित विकास गर्दै नगरबासीको साझा चौतारीको रुपमा बुटवल उपमहानगरपालिकालाई स्थापित गर्न हामी प्रयत्नरत छौं ।’
उनले बुटवलका समस्याहरू समाधानका लागि संघ र प्रदेशसँग समेत सहकार्य गरेर अगाडि बढ्ने बताए । बुटवललाई सबल आर्थिक केन्द्रका रुपमा स्थापित गर्नका लागि सबैको साथ जरुरी रहेको बताए।
कार्यक्रममा प्रमुख पाण्डेयले एक सय दिनको अवधिमा बुटवल १३ र १७ मा अक्सिजनसहितका २ अस्पताल, कृषि बजार केन्द्र स्थापना, आम्दा अस्पतालमा पीसीएल नर्सिङ अध्ययन, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ डिप्लोमा अध्ययन, अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि प्रक्रिया अघि बढेको बताए ।
यस्तै बुटवल बसपार्कमा बहुतले पार्किङ भवन निर्माणको अध्ययन, बुटवल ७ र ८ मा प्रदेशस्तरको हरियाली बसपार्क निर्माणका लागि जग्गा प्राप्तिको सहमति माग गर्ने काम अगाडि बढाइएको बताए।
नगरप्रमुख पाण्डेयले डेंगी नियन्त्रणका लागि लार्भा नष्ट गर्ने र फगिङ गर्ने, विद्यार्थीहरूका लागि आयमूलक कार्यमा संलग्न गराउन ‘कमाउ र अध्ययन गर’ भन्ने कार्यक्रम नवरत्न माध्यमिक विद्यालय बुटवल १५ मा सञ्चालन गरिएको, तिनाउ नदी किनारमा बाढीबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि च्यानलाइज गर्ने र तारजाली लगाउने काम गरेको बताए ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासका लागि चरणबद्ध रुपमा योजनाहरू कार्यान्वयनमा जाने बताइन । उनले बुटवललाई सहमति र सहकार्यका आधारमा सबैलाई साथ लिएर अघि बढ्ने बताए।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवललाई समृद्ध र सफल बनाउने योजना सफल पार्नका लागि कर्मचारी संयन्त्र प्रतिबद्ध भएर लाग्ने बताए।

लेखकको सम्वन्धमा