समृद्धी र विकासको लागि युवाको पालो : उपाध्यक्ष केसी
बुटवल, २० कार्तिक ।
अखिल नेपाल फुटबल संघ(एन्फा)का उपाध्यक्ष दीर्घबहादुर केसी(कुमार)ले देशको समृद्धि र विकासको लागि युवाहरुको नेतृत्व आवश्यक रहेको बताएका छन् ।
शनिवार तिलोत्तमा वडा नम्बर ३ को घर दैलो कार्यक्रम पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै रुपन्देही २(१) सत्ता गठबन्धनका साझा उम्मेद्वार रहेका केसीले विकास र समृद्धीका लागि प्रशस्त सम्भावना र स्रोत साधन हुदाँ हुदै पनि हरेक क्षेत्रमा बृद्ध नेतृत्वको कमजोरीले हामी पछि परिरहेको बताए ।
नेपाली कांग्रेसका सक्रिय सदस्य समेत रहेका केसीले बिकसित देशहरुमा युवाहरुले देश चलाउने बताउँदै नेपालमा पनि पुराना नेताहरुलाई बिश्राम दिई आफुजस्ता नेतालाई जिताउन आग्रह गरे ।
उनले तिलोत्तमाको ड्राईभरटोल-डिंगरनगर जाने सडकको ढल तथा नाली व्यवस्थित गर्ने, ड्राईभरटोलदेखि दक्षिण पुरानो सडकमा ढल निकाससहित सडक स्तरोन्नती, ड्राईभरटोलदेखि १० नं. चोक १२ नं. हुदैं कुञ्जलापुर चोकवाट करौजियासम्म ढल निकास सहितको सडक स्तरोन्नती, तिनाउ कोरिडोर निर्माण गरी वैकल्पिक मार्गको रुपमा विकास, नया मिलदेखि मोतीपुर जोड्ने सडकमा तीनाउ नदीमा पुल निर्माण गर्ने आफ्ना मुख्य प्राथमिकतामा रहेको उल्लेख गरे ।
उनले तिलोत्तमा वडा नंं ३ लाई सडक सञ्जालमा विस्तार गर्न योजना बनाएर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए । उनले सो क्षेत्रमा अहिले पनि अव्यवस्थित, सुकुम्बासीहरुको समस्या रहेको बताउँदै त्यसको समाधान नेपाली काँग्रेस सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
काँग्रेस नेतृत्वको सरकारले भुमि आयोग गठन गरेर लालपूर्जा वितरण कार्य भइरहेको तर निर्वाचन आचार संहिताले गर्दा वितरण रोकिएको बताए । तिलोत्तमा वडा नंं ३ मा धेरै सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या रहेकोले यसको समाधान निर्वाचन लगतै समाधान हुने प्रतिवद्धता जनाएका थिए ।

लेखकको सम्वन्धमा